प्रदेश 1

तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ । पाथेकाका नौ युवाको समूहले शेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो । करीब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको हो । ‘समृद्धि पथ एग्रो कम्पनी प्रालि’द्वारा सञ्चालित सो उद्योगबाट हालसम्म २५ लिटर तेल उत्पादन भएको सञ्चालक मुगाधन राईले बताए ।

“तीन हप्तासम्म परीक्षण गरेर तेल प्रशोधन गर्न थालिएको हो,” उनले भने । सो क्षेत्रमा पर्याप्त मात्रामा तितेपाती रहेको छ । औषधिका रुपमा प्रयोग गरिने तितेपाती तेलको माग बढ्दै गएको राईले बताए । प्रतिलिटर रु आठ हजार ५०० का दरले तेल बिक्री भइरहेको छ । “हामीले तेल उत्पादन थालेलगत्तै विभिन्न ठाउँबाट माग आउन थालेको छ”, राईले भने, “हाम्रो उत्पादनले बजार पाउन थालेको छ ।”

तेल उत्पादन गर्नका लागि एक पटकमा करीब ७०० किलो तितेपाती पकाउनु पर्छ । दुई पटकमा गरी करीब दुई लिटर तेल निकाल्न सकिन्छ । तितेपाती सङ्कलन गरी वाष्पीकरण विधिबाट पकाएर तेल निकाल्ने गरिन्छ ।