बाग्मती

काठमाडौंको कर्णाली ‘शङ्खरापुर’

साँखु । नेपालको कर्णाली भन्ने बित्तिकै विकासका पूर्वाधार र सेवा सुविधाको अभाव भएको राजधानीबाट निकै टाढाको क्षेत्र भन्ने बुझिन्छ तर काठमाडौँको शङ्खपरापुर नगरपालिकाका प्रायः सबै बस्ती सेवा सुविधाको हिसाबले कर्णालीभन्दा कम छैनन् ।

राजधानीबाट नजिकै रहेको उक्त नगरपालिकाको वडा नं १ केराघारी सेवा र सुविधा अभावको एउटा उदाहरण हो । तामाङ बस्तीको बाहुल्य रहेको यस क्षेत्रमा सडक पुगे पनि अहिलेसम्म सवारी साधान भने सञ्चालन हुन सकेको छैन । गाडी चढ्नका लागि एक घण्टा उकालो हिँडेर छाप भन्ज्याङसम्म आउनुपर्ने बाध्यता रहेको स्थानीयवासी सूर्य मोक्तान बताउँछन् ।

उनी भन्छन्, “काठमाडौँ जिल्ला भनेपछि सेवा सुविधाको कुनै अभाव नहोला भन्ने लाग्ला तर हामीले सजिलै यातायातको पहुँच, नजिकै विद्यालय र स्वास्थ्य चौकी भएको कहिल्यै महसुस गर्न पाएनौँ ।”
उक्त नगरपालिकाको वडा नं २ पटापमा पनि उस्तै समस्या छ । यातायात असुविधाका कारण यहाँका विद्यार्थीलाई उच्च शिक्षाका लागि डेढ घण्टा हिँडेर जहरसिंहपौवासम्म पुग्नुपर्ने बाध्यता छ भने बिरामी पर्दा उपचारका लागि गाउँमा एम्बुलेन्ससमेत नपुग्नाले कतिपय बिरामीको त अस्पताल ल्याइ नपु¥याउँदै बाटोमै मृत्यु हुने गरेको स्थानीयवासी वीरेन गुरुङ बताउँछन् ।

सोही नगरपालिकाको वडा नं ३ घट्टेकुलो पनि सेवा र सुविधाको दृष्टिले पछि परेको गाउँ हो । उक्त ठाउँबाट करीब एक घण्टा पैदल हिँडेपछि मात्रै यातायाताको सुविधा उपभोग गर्न पाइन्छ । घट्टेकुलोमा सडकको दुरवस्थाका कारण एम्बुलेन्स समेत जान सक्दैन । टोलमा कोही बिमारी हुदाँ बिरामीलाई बोकेरै जहरसिंहपौवा ल्याउनुपर्ने अवस्था रहेको स्थानीयवासीको गुनासो छ । सडक पुगे पनि सानो र कच्ची सडकका कारण सवारी साधन चल्न नसकेकाले घट्टेकुलोसम्म यातायात चलाउनका लागि सडक बढाउने र मर्मत गरिने लक्ष्य रहेको वडाध्यक्ष सन्तबहादुर वाइवा बताउँछन्।

प्राकृतिक सुन्दरताले रमणीय रहेको काठमाडौँ जहरसिंहपौवासम्म पुग्नका लागि पनि निकै कठिन छ । सडकको हिलो र धुलोका कारण समयमा पुग्न सकिँदैन । सहज र सजिलै यात्रा स्थानीयवासीका लागि कल्पना मात्र हुने गरेको छ । अहिले साँखुसम्म पुग्नका लागि सडकको दुरवस्थाका कारण कर्णलीको विकट गाउँ गएजस्तो समस्या झेल्नुपर्ने यात्रु महेश पुडासैनी बताउँछन् । सडकभरि खाल्डै खाल्डा छन् समयमा नपुगे पनि सकुशल पुग्न पाए भाग्य ठानिने गरेको पुडासैनीको भनाइ छ । दिनहुँ कहिले गाडी त कहिले मोटरसाइकल खाल्डोमा परेर दुर्घटना हुने गरेको सर्वसाधरण बताउँछन् ।

साँखुबाट केही माथि उक्लिने बित्तिकै काठमाडौँको कर्णाली भनेर चिनिने छाप भञ्याङका, घुमारचोक, लप्सेफेदी र नाङलेभारेमा अघिपछि चल्ने बस बर्खाको समयमा बन्द हुन्छ । विद्यार्थीलाई विद्यालय पुग्न एक घण्टा उकालो चढ्नु पर्छ । स्थानीयवासी रमा तामाङ भन्छन्, “चापकोबोटमा विद्यालय छ, माध्यामिक तहको कक्षाका लागि एक घण्टा ठाडो उकालो हिँड्नुपर्छ, काठमाडौँ भनेर मात्रै के गर्नु सेवा र सुविधाको हिसाबले त यो कर्णाली भन्दा विकट छ ।”

यातायातको असुविधा मात्र होइन, गाउँमा खानेपानीको पनि अभाव छ , खानेपानीका धारा पुग्न घरबाट आधा घण्टा तल झर्नुपर्छ, त्यहाँ पनि कहिले हप्ता दिन त कहिले एक महीनासम्म पानी आउँदैन ।गाउँमा सडकको अवस्थाले एम्बुलेन्ससमेत आउँदैन बिरामी पर्दा बोकेर लैजानुपर्ने अवस्था छ । बालबालिका पढ्न जान पनि पौने घण्टा उकालो हिँड्नुपर्ने हुन्छ । कतिपय बालबालिका त हिँड्न पर्ने भएकाले विद्यालय जान मान्दैनन् भन्छन् सोही ठाउँ निवासी बीरबहादुर तामाङ ।
उक्त नगरपालिकाको यी बस्तीमा सडक, स्वास्थ्यचौकी, खानेपानी र विद्यालयको मात्रैको सुविधा भएमा निकै सहज हुन्छ तर लामो समयदेखि निकै दुःख झेल्दै आइरहेका हामीहरूलाई काठमाडौँ कै बासिन्दा हौँ भन्न पनि हिनताबोध हुने वडा नं १ का सूर्य मोक्तान बताउँछन् । यस विकट क्षेत्रमा सरकारले समयमै ध्यान पु¥याउन र विद्यामान समस्या समाधान यहाँका बासिन्दाले माग गर्दै आएका छन्।