पत्रपत्रिका

तल्लो तहमा नेकपाको एकीकरण : दशैंअघि नै टुङ्गो लगाउने गृहकार्य

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढाएको छ । पार्टी केन्द्रीय सचिवालयको असोज ६ गते बसेको बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि प्रदेश समितिले जिल्ला समिति, गाउँ तथा नगर समिति, वडा समितिको एकीकरण गर्न गृहकार्य थालेका हुन् ।

एकीकरणको तयारी चलिरहेको अवस्थामा पार्टीको काम कारवाही सञ्चालनका लागि गण्डकी प्रदेश समितिले प्रदेशका सबै जिल्लामा तत्कालका लागि पार्टी संयन्त्र समेत गठन गरेको समाचार आजको गोरखापत्रमा छापिएको छ ।

गण्डकी प्रदेश समितिका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन गर्न संयन्त्र गठन गरिएको जानकारी दिए । पाण्डेले जिल्ला संयन्त्रमा तत्कालिन एमालेका तर्फबाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन माओवादी केन्द्रबाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजकसहित पाँच जना गरी १० जनाको संयन्त्र रहने व्यवस्था गरिएको बताए ।

महानगरपालिकामा १०, नगरपालिकामा ८ र गाउँपालिकमा ६ सदस्यीय पार्टी संयन्त्र गठन गर्ने निर्णय पनि समितिले गरेको छ । पार्टीको विधान, नियमावली र पार्टीको निर्देशनबमोजिम तल्ला समितिको एकीकरण हुने उनले बताए ।

त्यस्तै, प्रदेश १ र २ मा पनि जिल्ला समितिको एकीकरण दशैंअघि नै टुङ्गो लगाउने गृहकार्य भैरहेको छ । प्रदेश १ का इन्चार्ज भीम आचार्यले दशैंअघि तल्ला समितिको एकीकरण टुङ्गो लगाउने तयारी भइरहेको जानकारी दिए ।