समाचार

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सम्मेलन हुने

काठमाडौँ । नेपालमा भूकम्प गएको चौथो वर्षका अवसर पारेर ‘जलवायु परिवर्तन र विपद् न्यूनीकरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सम्मेलन हुने भएको छ ।

तुर्किमिनिस्तानको राजधानी अस्गावादमा आजदेखि शुरु भएको एशिया प्यासिफिक बोर्डकास्टिङ युनियन (एवियु) को ५५ औँ महासभाले यो सम्मेलन गर्ने निर्णय गरेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए ।

युनियनको आयोजनामा आगामी वैशाख ११ र १२ गते हुने सो सम्मेलनको नेपाल टेलिभिजनले संयोजन गर्नेछ । टेलिभिजनले नै सम्मेलन गर्ने प्रस्ताव महाधिवेशनमा राखेको थियो । भोलिसम्म चल्ने महाधिवेशनमा विभिन्न समितिको बैठकले पारित गरेका प्रस्तावलाई अनुमोदन गर्दै नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

महाधिवेशनमा भाग लिनका लागि नेपालबाट अध्यक्ष विष्ट, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसहित निजी र सामुदायिक रेडियोका ११ जनाको सहभागिता छ । युनियनमा ७५ देशका २७९ प्रसारक संस्था सदस्य छन् ।