प्रदेश 1

सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण तयारी

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि अपराधमा संलग्न मानिसलाई कानूनको कठघरामा उभ्याइने बताए ।

प्रदेशसभाको आज बसेको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिँंदै मन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रदेश सरकार गम्भीर छ भने । उनले प्रदेश नं १ अन्तर्गत पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण गर्ने तयारी भइरहेको जानकारी दिँंदै प्रदेश नं १ को स्थायी राजधानी र नाम सहमतिमा छिट्टै कायम हुने बताए ।

प्रदेशसभाको आजको विशेष समयमा सदस्य विष्णुमाया तुम्बाहाम्फेले प्रदेशको राजधानी र नाम कायम गर्दा कसैको पनि योगदान र बलिदानलाई बिर्सन नहुने बताउँदै त्यसमा लिम्बूवान् शब्द थप्नैपर्नेमा जोड दिए ।
यसअघि शून्य समयमा प्रदेशसभा सदस्य जयराम यादवले प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरलाई नै अनुमोदन गर्न प्रदेश सरकारसँग माग गरे ।

उनले सेवासुविधा भएको विराटनगरलाई नै स्थायी राजधानी बनाउन सबै प्रमुख राजनीतिक दलको ध्यानाकर्षण गराए । सदस्य आशारत्न जबेगुले सुशासन र पारदर्शिताविना लोकतन्त्र बलियो हुन नसक्ने भएकाले प्रदेश सरकारको कामकारवाही सोही ढङ्गको हुनुपर्ने बताउँदै प्रदेशका प्रमु्ख अङ्गलाई जथाभावी सार्न नहुने सुझाव दिए ।
दफावार छलफलका लागि विधायन समितिमा

प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

सो प्रस्ताव आन्तरिक मामिलामन्त्री कार्कीले पेश गरेका थिए । प्रदेशसभाको अर्को बैठक यही असोज २१ गते अपराह्न १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।