पु.समाचार

नेविसङ्घको आसन्न महाधिवेशन डेन्जर जोनमा

काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो ।

अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो ।

उक्त सङ्घको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गते म्याद सकिँदैछ ।

पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो ।

नेविसङ्घका उपाध्यक्ष रामप्रसाद अधिकारी निर्देशन समितिले दिएको निर्देशनअनुसार नै समयतालिका, विधान र नियमावली निर्देशन समितिलाई बुझाउँदा पनि निर्वाचन टार्ने खेल भइरहेको बताउछन् ।

“संस्थापन पक्ष ३२ वर्ष उमेर हदको कारण देखाएर महाधिवेशन टार्ने पक्षमा देखिन्छ,” उनी भन्छन् । पछिल्लो समय अन्य भातृ सङ्गठन आफ्नो समूहबाट पराजित हुँदै गएपछि संस्थापन पक्ष निर्वाचन गर्ने पक्षमा नरहेको उनको भनाइ छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट काङ्ग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहसँगै नेविसङ्घमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि चर्काचर्की भएको छ ।

नेविसङ्घका कोषाध्यक्ष शिव रिमाल निर्देशन समितिले गरेको आलटालका कारण तोकिएकै समयमा निर्वाचन नहुने आशङ्का बढेको बताउनुहुन्छ । “निर्वाचनको सुनिश्चितताका लागि निर्देशन समितिले विधान र नियमावली तत्काल टुङ्ग्याउनुपर्छ”, उनी भन्छन् ।

विद्यार्थी नेता मोतीलाल भण्डारी महाधिवेशनको मुखमा अध्यक्षले कार्यसमिति विस्तार गर्दा नेविसङ्घको महाधिवेशन नहुने हो कि भन्ने आशङ्का पैदा भएको बताउछन् ।

विद्यार्थी नेता ग्यालवाङ तामाङ तोकिएको समयमा नेविसङ्घको निर्वाचन हुन नसक्दा काङ्ग्रेस कमजोर हुने बताउछन् । “नेविसङ्घ जति बलियो हुन्छ, त्यति नै काङ्ग्रेस बलियो हुन्छ”, उनी भन्छन् । नेविसङ्घका सहमहामन्त्री एवं प्रवक्ता प्रेमराज जोशी केन्द्रीय समितिको बैठकले विधान संशोधन नगरेका कारण नेविसङ्घको १२औँ महाधिवेशन अन्योलमा परेको बताउछन् ।

“नेविसङ्घको महाधिवेशनका लागि पार्टी सभापतिसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराउनेछौँ”, उनी भन्छन् “महाधिवेशनको विकल्प महाधिवेशन मात्र भएकाले यथाशक्य छिटो महाधिवेशन सम्पन्न गराउने पक्षमा दवाव सिर्जना गर्छौ । ”

निर्देशन समितिका सदस्य एवं काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी अब बस्ने केन्द्रीय समिति बैठकमा नेविसङ्घको विधान र नियमावलीबारे छलफल हुने बताउछन् ।