प्रवास

प्रवासमा सुटिङ्ग भएको म्युजिक भिडियो बजारमा

काठमाडौँ । आर्थिक अभावले एउटा मानिसको जीवनमा आउने सङ्घर्ष, दुःख तथा पीडालाई समेटेर तयार पारिएको ‘यति टाढा जाने मन छ’ म्युजिक भिडियो बजारमा आएको छ ।

गायक देव शाहनीको शब्द, स्वर र सङ्गीत रहेको उक्त भिडियोको छायाङ्कन संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा गरिएको हो । कलाकारद्वय विनोद केसी र सुनिता धितालले अभिनय गर्नुभएको भिडियोमा इमान्दारिपूर्वक गरिने कार्य तथा परिश्रमले सफलता कायम गर्न सकिने सन्देश दिएको छ ।

ह्वाइट नेपाल प्रोडक्सनले बजारमा ल्याएको भिडियोकाबारे नायक नवल खड्काले कलाकारले अब देशको सीमा सुरक्षा, सामाजिक रुपान्तरणलगायतका विषयमा सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

उनले मुलुकको सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकले भोग्नुपरेको समस्यालाई सरकारले कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताउँदै सीमा तनावका विषयलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागेको जानकारी दिए ।

कलाकार सत्यकला राई, नन्दा बस्याललगायतले समाजका विकृतिलाई न्यूनीकरण गरी सकारात्मक परिवर्तनका लागि कला सशक्त माध्यम भएको विचार व्यक्त गरे ।