आर्थिक

थामिएन शेयर बजार दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ७६ बिन्दुले घटेर एक हजार २३० दशमलब ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३९ बिन्दुले घटेर २६१ दशमलब १ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक मात्रै नभई कारोवार रकममा समेत आज घटेको छ । कूल १६५ कम्पनीको १४ लाख ३६ हजार ५१२ कित्ता शेयर रु ३७ करोड ४० लाख ४९ हजार ८७५ मूल्यमा खरीद बिक्री भएको छ ।

स्टकका अनुसार कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर भने बढेको छ । बाँकी रहेका नौ उपसमूहको भने शेयर घटेको छ । व्यापार ४ दशमलब २२ र होटल ५ दशमलब ५६ बिन्दुले बढ्दा बैंकिङ १० दशमलब १२, विकास बैंक ११ दशमलब ५२, जलविद्युत् १५ दशमलब १४, वित्त ३ दशमलब ३३, निर्जीवन बीमा ५१ दशमलब ३८, उत्पादन ६ दशमलब ५२, अन्य ८ दशमलब ७५, माइक्रोफाइनान्स ९ दशमलब ७५ र जीवन बीमा ३७ दशमलब ४५ बिन्दुले घटेको छ ।