राजनीति

शेखर कोईरालाले देउवा तर्फ ईंगित गर्दै भनेः सभापति हुने आकांक्षा नराखे पनि हुन्छ

काठमाडौँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् ।

दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानको कार्यान्वयन, सङ्घीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततःकाङ्ग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताए । काङ्ग्रेसको विधान परिमार्जनका क्रममा सभापतिलाई अधिकार केन्द्रीत गर्ने सुझाव आएको जानकारी दिँदै उनले यो गलत हो भने । “पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ, चलाइनुपर्छ” ।

नेता कोईरालाले पार्टी सभापती शेर बहादुर देउवाले पार्टी सभापती बलियो हुनुपर्ने अभिव्यक्तीप्रति ईंगित गर्दै भने, जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारले मात्रै पार्टी चलाउने मनसाय राख्छ उसले सभापति हुने आकांक्षा नराखे पनि हुन्छ भन्ने सुझाव नेता कोइरालाले दिए। सांसद भीमसेनदास प्रधानले काङ्गे्रसको प्रजातान्त्रिक सिद्धान्त र ऐतिहासिक योगदानलाई जनता समक्ष पु¥याएर अहिलेको अन्यौलको अवस्था अन्त्य गर्न जुट्नुपर्ने बताए ।

प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष तथा राससका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले नेपाली धर्म, संस्कृतिलाई महत्व दिने विषयमा कहि कतैबाट पनि कञ्जुस्याइँ गर्न नहुने टिप्पणी गरे । समाजका अध्यक्ष कृष्णविलास अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वराज्यमन्त्री रामबहादुर गुरुड, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, काङ्ग्रेस क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेका टोखा नगरपालिका सभापति वसन्त श्रेष्ठ, हरिहर अधिकारी र रजनी थापालगायतले सो अवसरमा समसामयिक विषयमा मन्तव्य राखेका थिए ।