खेलकुद

पदक विजेता सेपाकताक्रो टोली फर्कियो

काठमाडौं । थाइल्यान्डको कोराटमा भएको ३३ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ ।

सेप्टेम्बर २३ देखि ३० तारिखसम्म भएको प्रतियोगितामा नेपालले पुरुष क्वाड स्पर्धामा कांस्य जितेको थियो । उक्त स्पर्धामा नेपालबाट रुपेश सुनार (कप्तान), सुजन डंगोल, रोशन तामाङ, रविन भट्टराई, सन्जित धिमाल र विजय महतोले प्रतिस्पर्धा गरेका थिए ।

समूह चराणको खेलमा नेपालले शत प्रतिशत जित निकालेको थियो । नेपालसहित समूह ‘डि’ मा ओमन, हङकङ, बंगलादेश र स्विट्जरल्यान्ड थिए । चारै राष्ट्रलाई नेपालले समान २–० को नतिजामा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

क्वाटरफाइनलमा पनि नेपालले फ्रान्सलाई २–० ले नै हराएको थियो । सेमिफाइनलमा भने नेपाल चाइनिज ताइपेईंसंग २–० ले चुकेपछि कांस्यमै सीमित भएको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङले जनाएका छन् ।

प्रतियोगितामा महिला टिमको पनि सहभागिता थियो । महिला टोलीले पदक ल्याएनन् । नेपालले पुरुष÷महिला दुवैमा डबल्स, रेगु र क्वाड स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।