अन्तर्राष्ट्रिय

सेप्टेम्बरमा भएका आतङ्ककारी आक्रमणमा २ सय ४० को मृत्यु

काबुल । अफगानिस्तानमा सेप्टेम्बर महिनामा भएका आतङ्ककारी आक्रमणहरुमा परी करिब २ सय ४० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सय ५० जना घाइते भएका एक मानवअधिकारवादी समूहले मङ्गलबार जानकारी दिएको छ । अफगानिस्तानका ३४ प्रान्तमध्ये २० ओटामा भएको आतङ्ककारी आक्रमणमा ठूलो नागरिक हताहत भएको मानवअधिकारवादी समूह सिपिएजीद्वारा जारी एक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको मुहमद दारा जिल्लामा सेप्टेम्बर ११ मा एक विरोध प्रदर्शनलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा ६८ व्यक्तिको मृत्यु हुनको साथै १६५ घाइते भएका थिए । अफगानिस्तानका विभिन्न १२ प्रान्तमा गत महिना अफगान र विदेशी सैन्य बलले गरेको हवाई तथा स्थल कारबाहीमा परी करिब १ सय २३ व्यक्ति हताहत भएका थिए । त्यसैगरी आतङ्ककारी आक्रमणहरुमा परी कम्तीमा १०३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका सिपिएजीले जानकारी दिएको छ ।

सिपिएजीले सर्वसाधारण नागरिकको ज्यान जानेगरी रात्री समयमा हुने सुरक्षा कारबाहीलाई रोक्न पनि जारी विज्ञप्तिमा अपिल गरेको छ ।गत अगस्ट महिनामा अफगानिस्तान भरमा भएका आतङ्ककारी आक्रमणहरुमा २६२ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५२४ घाइते भएका सिसिएजिद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।