राजनीति

बलायरको ठोकुवाः बम दिदीबहिनीबाटै निर्मलाको हत्यारा पत्ता लागेन भने मेरो कान काटेर फाल्दिनु !

डोटी । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई राम्ररी थाहा भएको ठोकुवा गरेका छन् । उनले निर्मला पन्तको बलात्कार र बलात्कार पछि हत्या कसले गरेको हो भन्ने कुरा रोशनी बम र बबिता बमलाई जानकारी रहेको दाबी गरेका हुन् ।

डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका नेता बलायरले वर्तमान सरकारले कथित समिति बनाउने तर वास्तविक हत्यारा पत्ता लाग्ने ठाउँमा बेवास्ता गर्नाले अहिलेसम्म हत्यारा पत्ता नलागेको टिप्पणी गरे । सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका उनले बम दिदीबहिनीबाट हत्याका बारेमा सबै खुल्ने दाबी गरेका हुन् । उनले बम दिदीबहिनीबाहेकबाट निर्मलाको बलात्कारी र हत्यारा पत्ता लागेछ भने आफूले कान काट्ने बताए ।

नेता बलायरले भने, ‘निर्मला पन्तहराएकै राति रोशनी बम र बबिता बम दिदीबहिनीहरुको घरमा छापा मारेको भए निर्मला भरसक जिउँदै नभए शव प्राप्त हुन्थ्यो । तर, प्रहरीले राति जान नमिल्ने भन्दै वास्ता गरेन ।’

निर्मला १० साउनमा रोशनी बमको घरमा गएकी थिइन् । त्यो घरमा रोशनी र उनकी दिदी वविता मात्र बस्थे । छोरी नआएपछि साँझ आफू खोज्न जाँदा बबतिाले आफूलाई नराम्रो व्यवहार गरेको आमा दुर्गादेवीको पनि गुनासो छ ।स्थानीयबासीले सुरुदेखि नै बम दिदीबहिनीबाट हत्या प्रकरणको अनुसन्धान गर्नु पर्ने माग गरेका थिए ।

निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका पूर्वमन्त्री बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको बताए । कांग्रेस नेता बलायरले भने, ‘यो मेरो ठोकुवा हो । निर्मलाको हत्या त्यही घरमा भएको हो वा जिउँदै कसले लगेको हो, उनीहरुलाई सबै थाहा छ ।’