गण्डकी प्रदेश

मोदीका सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल

पर्वत । ज्येष्ठ नागरिकलाई दिउँसो पुनर्मिलन गराउनका लागि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अभियान थालेको छ ।

मोदी गाउँपालिकाका सबै वडामा ज्येष्ठ नगारिक विश्रामस्थल बनाइने भएको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको दैनिकीलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाका सबै वडामा एक एक विश्रामस्थल बनाउन लागिएको जनाएको छ । विश्रामस्थल निर्माणको शुरुआत भने मोदी गाउँपालिका–५ बाजुङबाट गरिएको छ । अनुभव र योगदानले भरिएका ज्येष्ठ नागरिकको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएकाले यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए । पौडेलले गाउँपालिकाले महिला, बालबालिका र ज्येष्ठ नागरिकको हकहितका लागि चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्न लागेको जानकारी दिए ।

गाउँपालिकाले विश्रामस्थल निर्माणका लागि पहिलो चरणमा वडा नं ५ बाजुङका लागि रु तीन लाख विनियोजन गरेको थियो । गाउँपालिका प्रवक्ता विमल लामिछानेका अनुसार आगामी वर्षदेखि सबै वडामा विश्रामस्थललाई व्यवस्थापन गर्ने गरी बजेट विनियोजन गरिनेछ ।

ज्येष्ठ नगारिकले समाज र देशका लागि पु¥याएको योगदानको कदरसमेत हुने गरी विश्रामस्थल निर्माण गर्ने अभियान गाउँपालिकाले सञ्चालन गरेको लामिछानले बताए । “आजको समाज निर्माणमा सबै अग्रजको योगदान छ”, लामिछानले भने, “अग्रजको बलिदानीपूर्ण सङ्घर्षका कारण आजको समाज स्थापना भएको हो ।”

सङ्घीय सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामार्फत सहयोग गर्दै आएकाले स्थानीय तहबाट भने विश्रामस्थल निर्माण गरी ज्येष्ठ नागरिकका अनुभव सुन्ने र दिनचर्या कटाउन सहज बनाउने गाउँपालिकाको योजना रहेको लामिछानेको भनाइ छ ।

मोदी गाउँपालिकामा आठ वडा छन् । बाजुङबाट ज्येष्ठ नागरिक दिवसका अवसरमा सोमबारदेखि शुरुआत भएको योजना सबै वडामा विस्तार गरी एक वडा एक ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अगाडि बढाइने गाउँपालिकाले जनाएको छ । यस वर्ष वडा नं ५ मा तयार हुनेछ भने आगामी वर्ष आठ वटै वडामा निर्माण गरिने गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए । यसअघि सदरमुकाम कुश्माबजारस्थित कुश्मा नगरपालिका–५ ले ज्येष्ठ नागरिक विश्रामस्थल सञ्चालनमा ल्याएको थियो ।