गण्डकी प्रदेश

जन्मेदेखि नै ओछ्यानमा

पर्वत । रावणका भाइ कुम्भकर्ण वर्षको छ महीना सुत्ने र छ महीना बिउँझने गर्थे भन्ने भनाइ छ । यहाँको एक विकट गाउँका १६ वर्षीय युवक भने जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् ।

शुरुमा मेनिनजाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका– १२ ठूलीपोखरीका सन्दीप सुवेदी चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका छन् । उनका हात, खुट्टासमेत शरीरको कुनै पनि भाग चल्दैन भने बोल्न, हाँस्नसमेत सक्दैनन् । उनी आफैँ खानसमेत सक्दैनन् भने सहज रुपमा श्वास फेर्न पनि गाह्रो हुन्छ ।
शुरुआतमा उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिए पनि रोग निको नभएपछि उनलाई विभिन्न झारफुक गराउँदा तथा नेपालका सबैजसो अस्पतालमा पु¥याउँदा पनि अवस्था नसुध्रिएको उनकी आमा कल्पना सुवेदीले बताए। “नेपालका सबै ठाउँमा पु¥यायौँं तर निको हुन सकेन, अहिले काठको मुढोजस्तै ज्यूँदो अवस्थामा रहेको शरीर कुरेर बस्नुको विकल्प भएन”, सुवेदीले भने ।

शारीरिक रुपमा वृद्धि भए पनि हातखुट्टा र शरीरको कुनै पनि भागले काम नगरेपछि उनलाई काठको मुढोजस्तै चौबीसै घण्टा पल्टाएर वा ह्वील चियरमा ठडाएर राख्ने गरिएको छ । आर्थिक अवस्थाले कमजोर सुवेदीको परिवारका जेठा छोरा रहेका सन्दीपको अवस्था यस्तो भएपछि ठूलो समस्या परेको उनका बाबु कृष्णप्रसादले गुनासो गरे । सुवेदी परिवारका अन्य दुई सन्तान भने साङ्ग नै छन् ।

“रोग लागेदेखि नै उपचारबाट निको हुन्छ कि भनेर लाखौँ रुपैयाँ खर्च गरियो, बीसको उन्नाइस भएन” आमा कल्पनाले रुँदै भने,“न धन बच्यो, न साङ्ग नै भयो ।”

देख्दै असहजजस्तो देखिने उनको अवस्थाले परिवारका सदस्य पिरोलिने गरेका छन् । उनलाई खुवाउने, दिसापिसाब गराउने, लुगा फेरिदिने, नुहाइधुवाइ गरिदिनका लागि एक जना रातदिन खट्नुपर्ने अवस्था छ । आमाबाबुले रातदिन आलोपालो गरी स्याहारसुसार गर्नुपर्ने बाध्यता रहेको कल्पनाको भनाइ छ । नेपालमा उपचारको अर्को पद्धति नभए पनि कतैबाट आर्थिक सहयोग पाएमा विदेशमा लैजाने सोच उनीहरुको छ ।
“अब त निको होला भन्ने आश पनि मरिसक्यो”, कल्पनाले भने, “यही अवस्थामा कति वर्ष कुरेर बस्नुपर्ने हो थाहा छैन ।” सन्तान पाएपछि हुर्काउला, बढाउला, पढाउला र उनीहरुको कमाइबाट सुखसयलमा बसौँला भन्ने अभिभावकको चाहना चकनाचुर भएको सुवेदी दम्पतीको गुनासो छ ।

सन्दीपले पूर्ण अपाङ्गता भएका व्यक्तिको सुविधा पाउँदै आएका छन् भने स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि मासिक रु पाँच हजार सहयोग पाएका छन् । यसबाहेक अहिलेसम्म राज्यबाट उपचारका लागि होस् वा दैनिक स्याहारसुसारका लागि होस्, कुनै पनि सहयोग नपाएको गुनासो उनीहरुको छ ।
जन्मेदेखि सुतेरै जीवन कटाइरहेका सन्दीपलाई कुश्मा नगरपालिकाले पहिलो पटक एक थान ह्वील चियर प्रदान गरेको छ । आइतबार नगरपालिकाका उपप्रमुख सीता काफ्लेले सन्दीपको घरमै पुगेर ह्विलचियर प्रदान गरे । उनले उनको पीडामा थोरै भए पनि राहत पु¥याउने उद्देश्यले नगरपालिकाका तर्फबाट रु २० हजार सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

कुश्मा नगरपालिका र अपाङ्गता भएका व्यक्तिको उत्थान समाजको सहकार्यमा ह्विलचियर प्रदान गरिएको हो । अब तत्काल इलेक्ट्रिक बेड (विद्युतीय शय्या) पनि सहयोग गरिने भएको छ । यसले गर्दा उनको दैनिकीमा केही राहत महसुस हुने अपाङ्गता उत्थान समाजका अध्यक्ष किशोर शर्माले बताए।