लुम्बिनी

घोराहीमा बिपीको शालिक बन्दै

घोराही । नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरलाको शालिक सदरमुकाम घोराहीमा बनाउन थालिएको छ ।

घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण शुरु गरेको नेपाली काङ्ग्रेस दाङका जिल्ला सचिव शङ्करप्रसाद डाँगीले जानकारी दिए । छ फिट अग्लो पूर्ण कदको सो शालिक बनाउन निर्माणको संयोजन काङ्ग्रेस क्षेत्र नम्बर ३ ले गरेको छ ।

करीब रु १७ लाखको लागतमा शालिक पूर्णरुपमा तयार गरिने क्षेत्रीय सभापति भूपबहादुर डाँगीले जानकारी दिए । मङ्सिर मसान्तसम्म निर्माण सकिनेछ । विसं।२०६३ असार २७ गतेको साविक घोराही नगरपालिकाको बैठकले सो स्थानमा शालिक निर्माण गर्ने निर्णय गरेको थियो जसको २०७१ साल साउन ६ गते काङ्ग्रेसका नेता स्व खुमबहादुर खड्काले शिलान्यास गरेका थिए।