बाग्मती

‘नैतिक शिक्षाको अभावमा मानवता हरायो’

चितवन । युवा पुस्तामा नैतिक शिक्षाको अभाव हुँदा मानवता हराउँदै गएको छ । मानवता हराउँदा ज्येष्ठ नागरिकले आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन् ।

न्यूनवर्गीयदेखि सम्पन्न परिवारसम्मका ज्येष्ठ नागरिक अभिभावक विहीन बनेका छन् । गलेश्वर आश्रम देवघाटका पिठाधीश आत्मानन्द गिरी ज्येष्ठ नागरिक अभिभावकविहीन बनेको बताउँछन् । दुई सयभन्दा बढी वृद्धवृद्धा आश्रममा राखेर पालनपोषण गर्दै आउनुभएका गिरीको भनाइमा युवा पुस्तामा मानवीय मूल्य मान्यता र नैतिक शिक्षामा कमी आएको छ । स्वदेशमा छोराछोरी रहेका र विदेशमा रहेका दुबैको पीडा आफूले देखेको उनले बताए ।

आफूले जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएका छोराछोरी बूढेसकालका अभिभावक भएको भए पनि उनीहरुले अभिभावकत्व दिन नसकेको गिरीले बताए । उनले भने, “आफैले जन्माएका सन्तानले अभिभावकत्व जिम्मेवारी पूरा गर्न सकेका छैनन् । अभिभावकको अभावमा वृद्धवृद्धा पीडित छन् ।” बूढेसकालमा मानसम्मान र सेवा परिवारबाट पाउनुपर्नेमा तिरस्कृत भएको अनुभव वृद्धवृद्धाले गर्ने गरेको उनले बताए ।

सम्पन्न परिवारका छोराछोरी विदेश रहँदा यहाँ बसेका बाबुआमा घरको चौकीदारको रुपमा तड्पिरहेको उनको भनाइ छ । सम्पन्न मुलुकमा गएका सन्तानले त्यही बाबुआमा बोलाउने भए पनि बाबुआमा जान मान्दैनन् । त्यहाँ बिहानदेखि रातिसम्म छोराबुहारी काममा व्यस्त हुँदा बाबुआमा एक्लो बस्नुपर्नेहुन्छ । नेपालमा साथीभाइ र छरछिमेकमा जान पाउने भएकाले वृद्धवृद्धाको रोजाइ यही हुनेगर्दछ । सम्पत्ति बेच्न पनि नपाउने, एक्लै बस्नुपर्ने हुँदा त्यस्ता वृद्धवृद्धाको पीडा कहालिलाग्दो रहेको पाइन्छ । गिरीको सुझाव छ “पाठ्यक्रममा नैतिक शिक्षा समावेश नगरेसम्म सुधार हुनसक्दैन ।”

देशका ११ ठाउँमा मानवसेवा आश्रम सञ्चालन गर्दै आउनु भएका रामजी अधिकारी पछिल्लो समय मानवतामा कमी नभएर ह्रास आएको टिप्पणी गरे । बाबुआमाको मुख हेर्ने दिनमा तस्वीर खिचेर फेसबुकमा राख्नका लागि गरिएका सम्मानबाहेक अन्तरआत्माबाट उनीहरुप्रति गरिने सम्मानमा निकै कमी रहेको उनले बताए । पाँच सय ५० भन्दा बढी असहाय वृद्धवृद्धाको पालनपोषण गर्दै आएका अधिकारी आमाबुबामाथिको सम्मान, इज्जत दिने संस्कारमा कमी आएको बताउँछन् । उनी पनि स्कुलको पाठ्यक्रममा नैतिक शिक्षा नहुँदा यो समस्या उत्पन्न भएको बताउँछन् ।

देशका धेरै वृद्धाश्रम भरिभराउ रहेको भन्दै उनले बाल्यकालदेखि नै उनीहरुलाई मानवता र नैतिक शिक्षा दिन सकेमा बाबुआमाप्रतिको सम्मान जगाउन सकिने बताए । स्कुले विद्यार्थीलाई वृद्धाश्रम, मानव आश्रम, बाल आश्रम लगेर त्यहाँको सञ्जीव चित्रण गराउन सकेमा उनीहरुमा मानवता पैदा हुने अधिकारीले बताए । तत्कालीन जिल्ला विकास समितिका सभापति विष्णु घिमिरे मानवता हराउँदा वृद्धावृद्धाको अवस्था दयनीय बन्दै गएको बताउँछन ।

पैसा दिएर सम्मान गर्न खोज्ने चलन बढेको भन्दै उनले सन्तान नजिक भए मात्रै वृद्धवृद्धा सन्तुष्ट हुने बताए । उनले भने, “सन्तान साथमा हुँदा मात्रै वृद्धवृद्धाले आनन्दको अनुभव गर्छन् ।” धनी र गरीब दुवै वर्गका वृद्धवृद्धा समस्यामा रहेको उनले बताए । नहुने अभावमा पीडित रहेका र हुनेले उपभोग गर्न नसकेर पीडामा बाच्नु परेको उनको तर्क छ । पैसा भएर पनि किनेर ल्याउनसक्ने अवस्था नहुँदा सम्पन्न परिवारका वृद्धवृद्धामा सुख, सन्तोष नभएको र एक्लोपनको पीडामा बाँच्नु परेको घिमिरेको भनाइ छ ।

विकसित देशमा युवाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरेको भए पनि नेपालमा त्यसो हुन नसकेको उनले बताए । पश्चिमी मुलुकबाट धेरै कुरा नेपालीले सिकेको भन्दै उनले ज्येष्ठ नागरिकलाई गर्नुपर्ने सम्मानका बारेमा भने बुझ्न नसकेको बताए । उनले भने, “सम्मान गर्ने संस्कारको दरिद्रता छ ।”

प्रदेश सांसद समेत रहेकी समाजसेवी गीता वाग्ले मानवीय भावनाको विकास सानै उमेरदेखि गराउनुपर्ने बताउँछन् । उनले भने, “धेरै ज्येष्ठ नागरिकको अवस्था दयनीय छ ।” देवघाटमा रहेको रोटरी करुणालय सहितका वृद्धश्रममा सहयोग गर्दै आएकी वाग्ले सन्तानलाई आफ्ना बाबुआमाको सम्मान गर्न नैतिक शिक्षा दिइनुपर्नेमा जोड दिए ।