शिक्षा

रामपुर कृषि क्याम्पस सङ्कटमा

चितवन । मुलुककै जेठो रामपुर कृषि क्याम्पस सङ्कटमा परेको छ । कृषि तथा वन विश्वविद्यालय (कृविवि) खोल्ने निर्णयसँगै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान रुपमा परिचित उक्त क्याम्पस सङ्कटमा परेको हो ।

पहिले रहेको रामपुरस्थित उक्त क्याम्पसको सम्पूर्ण भौतिक संरचना कृषि तथा वन विश्वविद्यालयलाई सरकारले दिने निर्णय गरेसँगै उक्त क्याम्पस विस्तापित हुन पुगेको छ । सरकारले उक्त क्याम्पसमा रहेको जग्गा सहितको भौतिक संरचनामा कृविवि बनाउने निर्णय गरेपछि अहिले उक्त क्याम्पस चितवनकै खैरहनी नगरपालिका स्थित खैरहनी माविकोे भवनमा सरेको छ ।
चार कोठे भवनमा उक्त क्याम्पसका विद्यार्थी पढाउनका लागि प्रर्याप्त भौतिक पूर्वाधार नभएको क्याम्पस प्रमुख मिलन सुवेदीले बताए । विसं २०२९ मा स्थापना भएको त्रिविको आङ्गिक ‘क’ श्रेणीको उक्त क्याम्पस रामपुरमा ३६२ बिघा क्षेत्रफलमा फैलिएको थियो तर कृविवि आएपछि अहिले उक्त क्याम्पस भौतिक पूर्वाधार विहीन भएर हाल नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको छ ।

“पहिलेको भौतिक संरचना सहित जग्गा सबै सरकारले कृविविलाई दिने निर्णय गरेसँगै हामी सडकमा आयौं” उनले भने,“अहिले भने नगरपालिकाको उपलब्ध गराएको चारकोठे भवनमा जेनतेन कक्षा सञ्चालन गरिरहेका छौं । उक्त क्याम्पसको सबै भौतिक संरचना कृविविले लिएपछि विगत छ वर्षसम्म नयाँ भर्ना समेत रोकिएको थियो । त्रिवि र कृविविबीच भौतिक संरचना हस्तान्तरण सम्बन्धी विवादले नयाँ भर्ना रोकिएकामा गत वर्षबाट नगरपालिकाले भवन उपलब्ध गराउने भएपछि नयाँ भर्ना शुरु गरिएको क्याम्पस प्रमुख सुवेदीले जानकारी दिए ।