साहित्य

पुराना नाट्यकर्मी पंकजकुमार खलनायकको भूमिका रुचाउँथे

काभे्रपलाञ्चोक ।
जाग जाग जाग लौ जाग, देशका हे वीर सन्तति
सबै मिली देश जोगाउन, मरिमेटी गरौँ उन्नति
काँधमा काँध मिलाई छातीमा छाती जोडी
देश निर्माण गर्नलाई बढ्दै जाऊँ सरासरी १
दुई दशकअघि कवितामार्फत सांसद बन्ने चाहना राखेएका काभे्रपलाञ्चोकका पुराना नाट्यकर्मीद्वारा संगृहीत त्रिकोण नामक कविता सङ्ग्रहको ‘जाग जाग जाग, लौ जाग’ कविताको एउटा अंश हो यो । नाट्यकला, गायन, गीत सृजना तथा अभियनमा लामो समय बिताएका काभे्रपलाञ्चोकको धुलिखेलका साँस्कृतिककर्मी पंकजकुमार चित्रकार राष्ट्रियस्तरमा समेत छवि बनाइसकेका ब्यक्तित्व हुन् ।
विसं २००९ मा नाट्यकला शुरु गरेका चित्रकारलाई काठमाडौँमा धुलिखेलकै युवाले सघाएका पनि थिए । विशेष गरी शोषणविरुद्ध चेतनामूलक नाटक देखाउने उनको त्यतिबेलाको काम थियो । नाटकमा खलनायकको भूमिका उनलाई साह्रै मनपथ्र्यो । खलनायकमा गरीबलाई शोषण गर्ने र चर्को स्वरमा संवाद गर्न उनको रुची थियो ।
चित्रकारले नाट्यकला छाडेको पनि वर्षौं भैसक्यो । अहिले उनको बूढ्यौली जीवनशैली छोराको होटलमा बसिबियाँलो गर्दै पत्रिका पढेर बितिरहेको छ । अडसठ्ठी वसन्त पार गरिसकेका उनी आफ्नो कला र सृजना सम्झेर होटलमा टोलाइरहेको अवस्थामा पनि भेटिन्छन्। । उनी नाटक रच्ने, निर्देशन गर्ने अनि, अरुलाई अभिनय गराउँदै आफैं पनि अभिनय गर्ने र्गदर्थे ।
विसं २०१० मा वासुपासाको किसान कथालाई नाटकको रुप दिएपछि चित्रकार धुलिखेलवासीको स्याबासीका पात्र भए । विसं २०४२ जेठमा धुलिखेलमै तीन दिन ‘ओइलिएर झरेका फूलहरू’ नामक नाटक प्रदर्शन गरेपछि भने उनले नाट्यकला चटक्कै छाड्े । चोक, डबली र गल्लीमा विकृति, अन्याय–अत्याचार र शोषणविरुद्धका चेतनामूलक नाटक मञ्चन गर्दै ३३ वर्षपछि नाट्यकलाको जीवन समाप्त गरे उनी आफैंले । उनी तत्कालीन कम्युनिष्ट आन्दोलनका अगुवासेमत हुन् ।
नाट्यकलामा राष्ट्रियस्तरमै ख्याति कमाएका उनले आफ्नो कलालाई चटक्कै छाड्नुका कारण भने बताए । विसं २००८ मा युगल नृत्य कलामण्डलको स्थापना गरी साँस्कृतिक क्षेत्रको उत्थानमा लाग्दै २०३१ देखि २०५३ सालसम्म हिमाली कला मन्दिरको संस्थापक अध्यक्ष भएका चित्रकार । कुराकानीका क्रममा उनले सम्मानपत्र र पुरस्कारले भरिएका कोठाका भित्ता देखाउँदै भने – “अब त बूढेसकालले झ्याप्पै ढाक्यो । पुराना आफ्ना नाट्यकला र अभिनयहरु मानपटलमा स्मृति बनिरहेछन् ।”
विसं २०३६ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट नाटक महोत्सवमा चेतनाको चित्कार नामक नाटकमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार थापेपछि उनले ठिमी कला परिषद्बाट प्रतिभालगायत थुपै पुरस्कार पनि पाए । उनले २०१५ सालमा वेदना गीत संग्रह र २०५५ सालमा २६ वटा नेपाली र १२ वटा नेपाल भाषाका कविता समेटेर त्रिकोण कविता संग्रह प्रकाशित गरे । संगृहीतबाहेक पत्रपत्रिकामा छापिएका क्रान्तिका गीत र कविता गनेर साध्य छैन उनको ।
प्रारम्भिक शिक्षा घरमै लिएर २०३० सालमा स्थानीय नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका गरेका चित्रकारले नाट्यकलासँगै जिल्ला सहकारीमा २०३२ देखि २०५२ सालसम्म जागीरे जीवन पनि बिताए । विसं २०१५ मा ग्राम विकास कार्यकर्ता भएपछि उनको जागीर २०१७ सालमै तत्कालीन विश्वेश्वर कोइरालाको सरकारले खोसिदियो । मासिक ६० रुपैयाँ पारिश्रमिक आउने उनको जागीर थियो । जीवनसङ्गिनी बेतिमाया पनि चित्रकारलाई २०५६ सालमा एक्लै छाडेर स्वर्गे भए ।

आफूले लेखेको मात्र नभई अन्य साहित्यकारले लेखेका कथालाई नाटकको रुप दिएर प्रदर्शन गदर्थे चित्रकारले । उनले शिशिर–वसन्त, नासो, परिबन्द, किसानलगायत कथालाई नाटकको रुप दिएको छ । शिशिर–वसन्तलाई नाटकीय रुप दिन काँटछाँट गरी विदेशीले नेपाल हडप्न गरेको षड्यन्त्रको कथा उनेर नाटकमा प्रदर्शन गरेको उनले सुनाएको । उनी भन्छन् – “महाभारतको दानवीर, कर्ण, सत्यहरिश्चन्द्रका भूमिका तथा चीरहरणको कथालाई समेत नाटकीय रुप दिएको छु ।”
वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीले उनलाई ठूलो गुन लगाएको चित्रकार सम्झन्छन्। सुनकोशी साहित्यिक प्रतिष्ठान, हिमाली कला मन्दिर र मौलिक साहित्यिक समाजले गरेको सम्मान कहिल्यै भुल्न नसक्ने उनले सुनाए । जीवनकालको उत्तरार्धमा आफूलाई ‘डाँडामाथिको घाम’ सम्झने चित्रकारलाई बाँकी जीवन आफ्ना सन्ततिलाई असल बाटोतर्फ जाने पे्ररणा दिएर बिताउने रहर छ ।