गण्डकी प्रदेश

भेडीखर्के साइँलाको शालिक अनावरण

बेँसीशहर । ठाडोभाका शिरोमणि स्व भेडीखर्के साइँला (दीर्घनाथ अधिकारी) को अर्धकदको शालिक अनावरण गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा उनको शालिक अनावरण गरिएको हो । आइतबार राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई ‘ब्याकुल माइँला’ले स्व साइलाको शालिकको अनावरण गरे। अनावरण गर्दै उनले ठाडोभाका संरक्षणमा साइँलाको उच्च योगदान रहेको बताए ।

रु दुई लाख ५० हजारको लागतमा अर्धकदको शालिक र रु तीन लाख ५० हजारको लागतमा सालिक राख्ने ठाउँ गरी कूल रु छ लाखको लागतमा साइलाको शालिक निर्माण गरिएको हो । काठमाडौँ–१३ का मूर्तिकार राजु तुलाधरले साइलाको मूर्ति निर्माण गरेको भेडीखर्के साइला स्मृति प्रतिष्ठानका अध्यक्ष शम्शेर लौडारीले बताए । घरदैलो अभियान सञ्चालन गरी मूर्ति स्थापना गरिएको हो, उनले भने ।

भेडीखर्के साइँला स्मृति प्रतिष्ठान लमजुङ सुन्दरबजारको पहल तथा विभिन्न सहयोगी व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा साइँलाको शालिक निर्माण गरिएको हो । शालिक अनावरणकै अवसरमा ठाडोभाका समेत प्रस्तुत गरिएको थियो ।

पिता बलभद्र अधिकारी र माता नन्दकुमारी अधिकारीका साइला छोरा हुन् । सानो छँदा पिताको भेडीखर्कमा हुर्किए । दीर्घराज अधिकारीले ठाडो भाका गीत गाएर हिँड्न थालेपछि श्रोता र दर्शकले भेडीखर्के साइला भन्न थाले । सुन्दरबजार नगरपालिका–११ सिन्दुरे तुर्लुङकोटमा विसं १९९० भदौ २९ गते शुक्रबार जन्मिनुभएका भेडीखर्के साइँलाको ८४ वर्षको उमेरमा २०७४ भदौ २६ गते निधन भएको थियो ।