गण्डकी प्रदेश

पुल बनाउन अध्ययन शुरु

बलेवा । बागलुङ र पर्वत दुई जिल्ला जोड्ने गरी नेपालकै लामो पुल निर्माणका लागि अध्ययन शुरु भएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी कालिगण्डकीमाथि आकाशे पुल निर्माणका लागि अध्ययन थालिएको हो । बागलुङ नगरपालिकाको पहलमा सस्पेन्न ब्रिज डिभिजन कार्यालयले ५४५ मिटर लामो पुलको अध्ययन थालेको हो ।

पहिलो पटक विसं २०५९ मा पुल निर्माणका लागि पहल थालिएको भए पनि लठ्ठा तान्न समस्या हुने भन्दै अध्ययन प्रक्रियामै रोकिएको थियो । ६०० मिटर लामो दूरीसम्म नेपालकै इञ्जिनियरबाट काम गराउन सकिने भएकाले उक्त पुल निर्माणका लागि पुनःअध्ययन शुरु भएको सस्पेन्न ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर हुमानाथ मिश्रले जानकारी दिए ।

बागलुङ बजारदेखि नजिक अदुवाबारीसम्म पुग्नका लागि ठूलो खोच क्रस गरेर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि पुल निर्माणको अभियान शुरु भएको थियो । यसअघि उक्त पुल निर्माणका लागि भएका प्रयास प्राविधिक कारणले असफल हुँदै आएका थिए । अहिले लठ्ठा तान्ने चाइनिज प्रविधि खरिदका लागि अर्थमन्त्रालयमा माग गरिएकाले उक्त प्रविधि भित्रिएपछि पुल निर्माणमा सहजता आउने मिश्रले बताए ।

बागलुङ बजारसँग व्यासायिक सम्बन्ध रहेका पर्वत पाङलगायतका जनताका लागि सहज पुहुँच पुग्ने गरी पुल निर्माणका लागि केन्द्र सरकारलाई यस अगाडि नै दबाब दिइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । कालीगण्डकीमाथि करीब १६० मिटरको उचाइमा बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडकखण्डको ठीक माथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

विसं २०५९ मा रु पाँच करोड ८४ लाख लागत अनुमान गरिएको उक्त पुल निर्माणका लागि अहिले रु १० करोड खर्च हुने बागलुङ नगरपालिकाले जनाएको छ ।