पर्यटन/संस्कृति

पाँच रातको प्रदर्शनसँगै महाकाली नाच सम्पन्न

भक्तपुर । विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं ५ र ६ का युवाको सक्रियतामा गतवर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ । यस वर्ष इन्द्रजात्राको भोलिपल्ट अर्थात् मङ्गलबार रातिबाट शुरु भई गए राति गुरुहरूको टोलमा प्रर्दशन गरी नाच सम्पन्न गरिएकोे हो ।

महाकाली नाच संरक्षण तथा सञ्चालन समितिले सञ्चालनमा ल्याएको नाच मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथ मन्दिरबाट शुरु भई हरेक रात टोलटोलमा गएर प्रर्दशन गरिएको थियो ।

समितिका अध्यक्ष सूर्यमान पिला श्रेष्ठले भने, “पूर्णिमादेखि रातिराति सञ्चालन भएको यो नाच अब हरेक वर्ष सञ्चालनमा ल्याउँछौँ, यो नाच हरेक दिन साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै थिमिका टोलटोल, चोकचोकमा नचाइएको थियो ।” नाच दथुटोल, दिगुटोल, गँगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हँुदै थिमिका विभिन्न टोल परिक्रमा गरी बालकुमारी पु¥याइएको थियो ।

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रूपमा यो नाच नौ देखि १३ तालमा नाचिने बताए । उनले आफू २०२५ सालमा देवी भएर नाचेको स्मरण गर्दै आफूले नाच सिकेकाले यो नाचलाई जोगाउन सजिलो भएको बताए ।

यो नाचमा नचाइने ताल सबैभन्दा पुरानो र अरू नाचको तालसँग मिल्दैन । नाचमा देवी एक, महालक्ष्मी एक, बेताल चार, भूत भैरव दुई, सिंह एक, कवां दुई, ख्या दुई, माक दुई गरी १५ जनाले विभिन्न देवीदेवताको रूपमा नाच्ने गरेको उनले बताए ।

बाजाको तालसँगै विभिन्न स्वरूपमा नाचिने यो नाचमा देवी र दानवको युद्धलाई समेत चित्रण गरिएको बताउँदै गुरु श्रेष्ठले लगातार १३ तालमा नाच्दा रात बित्ने भएकाले सबै टोलमा सबै तालमा नचाउन भने नसकिने जानकारी दिए ।

परापूर्वकालमा यो नाच नचाउँदा बजेको बाजा र देवीदेवताको स्वरुपले भूत भाग्ने जनविश्वास रहेको बताउँदै अर्का गुरु हीराकाजी लामा श्रेष्ठले देवताका रुपमा नाच्नेहरूमा देवताको शक्ति आउने भएकाले लगातार नाच्न सकिएको बताए।

समितिका अध्यक्ष श्रेष्ठले यस वर्ष नाचको मुकुटहरू लुगाहरू आवश्यक सामग्रीहरु किनेको र नाचमा करीब रु आठ लाख खर्च लागेको बताए ।