अन्तर्राष्ट्रिय

नयाँ संसदका लागि मतदान

अर्बिल, इराक । इराकको स्वायत्त क्षेत्रको मान्यता पाएको कुर्दिस्तानमा नयाँ संसदका लागि मतदान शुरु भएको छ । कुर्दिस्तानमा गत वर्ष स्वतन्त्रतासम्बन्धी जनमतसङ्ग्रह गरिएपछि क्रोधित भएको बग्दादका कारण कुर्दिस्तानमा आर्थिक सङ्कट उत्पन्न भएको छ ।

इराकको उत्तरी क्षेत्रमा रहेको कुर्दिस्तानमा तीनवटा प्रान्त छन् । यहाँ करिब ३१ लाखले मतदान गर्दैछन् । एकसय ११ सदस्यीय संसदका लागि २९ वटा राजनीतिक दलका ६ सय ७३ जनाले चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यहाँका ११ वटा सिट भने धार्मिक तथा जातीय अल्पसंख्यकहरुका लागि छुट्याइएको छ । तीमध्ये पाँचवटा सिट टर्केली उम्मेदवारका लागि, पाँचवटा इसाई समुदायका लागि र एउटा आर्मेनियाली समुदायका लागि छुट्याइएको छ ।

इराकी कुर्दहरु इस्लामिक स्टेट्स जिहादी समूहका बिरुद्धको युद्धमा अमेरिकाका मुख्य साझेदार रहिआएका छन् । उनीहरु छुट्टै मुलुकको मान्यताका लागि पश्चिमा मुलुकबाट सहयोग प्राप्त हुने विश्वासमा छन् ।

सेप्टेम्बर २०१७ मा गरिएको स्वतन्त्रता सम्बन्धी जनमत सङ्ग्रहमा “हुन्छ” भन्ने पक्षमा व्यापक मत प्राप्त भएको थियो । तर यसलाई इराकी सरकारले अवैधानिक ठहर्याएको छ । यसबाट खनिज तेलमा सम्पन्न कुर्दिस स्वायत्त क्षेत्रमाथि नकारात्मक प्रभाव परेको छ ।

बग्दादले कुर्दिस्तानमाथि आर्थिक दण्ड गर्नुका साथै खनिज तेलका मुख्य केन्द्रहरुबाट कुर्दिस सैनिकलाई हटाउन सैनिक कारबाही गरेको थियो । यसबाट खनिज तेलबाट हुने मुख्य आम्दानी कुर्दिस्तानले गुमाएको छ ।

यस निर्वाचनले कुर्दिस्तान र बग्दादबीचको सम्बन्धमा नयाँ अध्याय शुरु हुने अपेक्षा गरिएको २६ वर्षीय हउजार सलारले बताउनुभयो । उहाँ क्षेत्रीय राजधानी अर्बिलमा मतदानका लागि आएका छन् ।

कुर्दिस्तानमा सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि भएको आक्रमणपश्चात आर्थिक समृद्धि आएको थियो । यस अवधिमा कुर्दिस्तान बाहेक इराकका अन्य क्षेत्र गृहयुद्धमा फसेका थिए ।

तर सन् २०१४ मा आइएसको उदय तथा खनिज तेलको मूल्यमा कमी आएसँगै यहाँको अर्थतन्त्रमा नकारात्मक असर परेको थियो ।

सन् २०१४ यता इराकी कुर्दिस्तानले चार अर्ब डलरभन्दा बढी ऋण लिइसकेको छ । सरकारी विवरण अनुसार, इराकी कुर्दिस्तानमा अहिले मासिक ८५० डलरभन्दा कममा जीवन गुजारा चलाउनुपर्ने अवस्था छ ।

यता, गत मे महिनामा संसदको निर्वाचन भएपनि इराकमा नयाँ सरकार गठन हुन सकेको छैन । सोमबार बग्दादमा संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्दैछ ।