अन्तर्राष्ट्रिय

मस्कद्वारा राजीनामाको घोषणा

वासिङ्टन । विद्युतीय कार निर्माता टेस्ला कम्पनीको अध्यक्ष पदबाट इलोन मस्कले राजीनामा दिने घोषणा गरेका छन् । अमेरिकी धितोपत्र बोर्डले मस्कमाथि दुई करोड डलर दण्ड जरिवाना गर्ने निर्णय गरेको तर उहाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा यथावत रहने जनाएको छ ।

यो सम्झौताले पछिल्ला दिनहरुमा मस्क विरुद्ध परेको दबाब केही कम भएको छ । मस्कले केहीअघि ट्वीट गर्दै टेस्ला कम्पनी निजी रहेको धारणा सार्वजनिक गरेपछि स्वामित्वको विषयलाई लिएर विवाद चुलिएको थियो ।

“कम्पनीको कर्पोरेट सुशासन र टेस्लाभित्रका अन्य सुधार तथा दण्ड जरिवानाको भुक्तानीमा सहमति भएको छ, तर यो विषयमा अदालतको सहमति लिन बाँकी छ,” धितोपत्र बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

मस्कमाथि सेयरमा धाँधली गरेको तथा अगस्ट ७ मा ट्वीट गरी लगानीकर्तामाथि भ्रम सिर्जना गरेको आरोप लगाइएको छ । मस्कले ट्वीट गरी टेस्लाको सेयर प्रति सेयर ४२० अमेरिकी डलरमा सेयर बिक्री गरी निजीकरण गर्ने बताएका थिए ।

यो घोषणासँगै टेस्लाको सेयर मूल्य बढेको थियो । अमेरिकी नियामक निकायको हस्तक्षेप पछि मस्कले उक्त योजना त्याग्ने निर्णय गरेका थिए ।

“कम्पनीका भित्री व्यक्तिहरुले यस्ता वक्तव्यहरु दिँदा जिम्मेवारीपूर्ण किसिमबाट गर्नु पर्दछ,” धितोपत्र बोर्डका अध्यक्ष जे क्लेटोनले बताउनुभयो ।

सम्झौता अनुसार बजार र लगानीकर्ताको सर्वोत्तम हितलाई ध्यानमा राखी मस्कले टेस्ला कम्पनीको अध्यक्ष पदमा कम्तीमा तीन वर्ष रहन पाउने छैनन्, र कम्पनीमा स्वतन्त्र व्यक्तिले अध्यक्षको जिम्मेवारी पाउनेछन् ।
–––