गण्डकी प्रदेश

मुक्तिनाथमा तीर्थालुको ओइरो

पोखरा । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष (पितृ पक्ष) का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेका पितृ उद्धार हुने विश्वासले देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्दछन् ।

मुक्तिनाथ जाने दर्शनार्थीको चाप पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्दछ । तीर्थालुलाई लक्षित गरी पोखरा विमानस्थलबाट समिट र तारा एयरलायन्सले दैनिक पाँच-पाँच उडान गरिरहेको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।

यात्रुको चाप हेरी एयरलायन्सले ६/७ पटकसम्म उडान गर्ने गरेको जानकारी दिँदै उनले सिम्रिक र तारा एयरलायन्सले हेलिकप्टरबाट सेवा सञ्चालन गरेको बताए ।

पोखरा हुँदै मुक्तिनाथको रानीपौवासम्मको बाटो कालोपत्रे भएका कारण स्थलमार्गबाट मन्दिर पुग्न पनि निकै सहज भएको छ । मन्दिरको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होटलको सङ्ख्या, सुविधा र लगानी पनि बढेको छ । रानीपौवास्थित होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङकाअनुसार रानीपौवामा पर्यटकलाई लक्षित २२ वटा होटेल सञ्चालनमा आएका छन् ।

त्यस्तै झारकोटमा दुई, खिङ्गा गाउँमा तीन होटेल सञ्चालनमा रहेको उनले जानकारी दिए । सामान्यतः एक दिनमा दुई हजार स्वदेशी एवं विदेशी पर्यटक राख्नसक्ने गरी यहाँका होटेलको क्षमता विस्तार गरिएकोे छ ।

पाँचवर्ष अघिसम्म मुक्तिनाथ जाने भक्तजन धर्मशाला र स्थानीयवासीका घरमा बास बस्न बाध्य हुनुपरेकामा होटेलको विस्तारले उक्त बाध्यता हटेको छ । धेरै तीर्थयात्री जोमसोममा पनि बस्छन् । स्रोह्रश्राद्ध शुरु भएयता होटेलमा दिनप्रतिदिन तीर्थालुको चाप बढेको जोमसोमस्थित मुस्ताङ हेरिटेज होटलका सञ्चालक राजेश भट्टचनले जानकारी दिए । अर्का हाइट डेजर्ट होटेलका सञ्चालक टसी गुरुङले पनि तीर्थयात्रीको बढ्दो चापले यतिखेर व्यावसायीलाई भ्याइनभ्याइ भएको बताए ।

होटेलमा बढ्दो यात्रुको चापलाई लक्षित गरी त्यहीअनुरुप सेवा प्रवाह गरिएकोे रानीपौवास्थित युरिका इन होटेलका सञ्चालक सुजन तुलाचनले जानकारी दिए । पोखरा, काठमाडाँै, चितवनलगायत शहरका होटल शरहका सुविधा यहाँका होटलमा पाइनुका साथै कोठाबाटै हिमाल र मनोरम भू–वनोट अवलोकन गर्न सकिन्छ ।

बेनी–जोमसोम–मुक्तिनाथ सडक सञ्चालन भएसंँगै नेपाली र भारतीय तीर्थालुको बाह्रैमास आवागमन हुन थालेको बताउने मुक्तिनाथका पूजारी कृष्णप्रसाद सुवेदी पितृ पक्षका समयमा भने मन्दिरमा दैनिक पाँच सयदेखि एक हजारसम्म तीर्थालु आउने गरेकोे जानकारी दिए ।

जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको उक्त मन्दिर समुद्र सतहबाट तीन हजार ७०० मिटर उचाइमा छ । त्यहाँ पुग्न पोखरा, काठमाडाँै, सुनौली, बेनी र मालढुङ्गाबाट सवारीसाधन पाइन्छन् ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पूण्यभूमि मानिन्छ । भगवान् विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किम्बदन्ती छ ।

ती १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ रहेको मुक्तिनाथको मूर्तिलाई विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत् जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले पनि यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् ।

मन्दिरमा ब्राह्मण र यहाँका आदिवासी आनीले पनि पूजाआजा गर्छन् । हिन्दूले भगवान् विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्ने र बौद्ध धर्मावलम्बीले तान्त्रिक सिद्ध गुरु रिञ्पोछेसँग जोडेर यस स्थललाई हेर्ने गर्छन् ।