पु.समाचार

‘दोस्रो बालिका सम्मेलन–२०७५’ को उद्घाटन गर्दै कावा प्रधानमन्त्रीले के भने ?

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बालिका संरक्षणका लागि सामाजिक चेतना र जागण्रण अभियान सञ्चालन गर्न जरुरी भएको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित ‘दोस्रो बालिका सम्मेलन–२०७५’ को उद्घाटन गर्दै उनले भने, “देशमा संविधान कानून बनेका छन्, राजनीतिक प्रतिबद्धता छ, तर अहिले पनि गर्भमै छोरा वा छोरी छुट्याएर, छोरीलाई भए गर्भमै नष्ट गर्ने गरेको देखिन्छ, त्यसलाई रोक्न सामाजिक जागरण चाहिन्छ ।”

उनले कानूनमा बालिकाको २० वर्ष उमेर पुगेपछि मात्र विवाह गरिने भए पनि औसत १७ वर्षमा विवाह हुने देखिएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्ने औँल्याए । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकभित्र राखेको उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले भने,“बालिकाको संरक्षणका लागि कानूनी जटिलता भए संविधान, कानून र नियम नै परिर्वतन गर्न भए पनि सरकार तयार छ ।”

कार्यवाहक प्रधानमन्त्री पोखरेलले स्थानीय, प्रदेश र केन्द्र सरकार सबैले बालिका हत्या, हिंसा र बलात्कारजस्तो जघन्य अपराध न्यूनीकरण गरी तिनको संरक्षणका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले बालविवाह, जबरर्जस्ती विवाह, बेचबिखनजस्ता कार्य रोकी बालिकाको संरक्षण गरेर सक्षम र क्षमतावान् नागरिक निर्माणका लागि सबैलाई आआफ्ना ठाउँबाट पहल गर्न आग्रह गरे ।

सो अवसरमा महिलामन्त्री थममाया थापाले बालिकामाथि हिंसा, हत्या, बलात्कारका घटना रोक्नका लागि सबैलाई एकताबद्ध हुन आग्रह गरे । बेलायती राजकुमार ह्यारीले भिडियो कन्फरेन्समार्फत बालिका सम्मेलनको शुभकामना दिँदै नेपालका बालिकाको उज्ज्वल भविष्यको कामना गरे ।

नेपालको संविधानले बालबालिकालाई मौलिक हक प्रदान गरेको छ । बाल संरक्षण नीतिमा बालबालिकालाई पिट्ने वा शारीरिक रुपमा आक्रमण वा शारीरिक दुव्र्यवहार गर्न नहुने, बालबालिकालाई अश्लील चित्र, शब्द वा हाउभाउ प्रस्तुत गर्न नहुने, कुनै पनि बालबालिकालाई कानून विपरीत श्रम वा काममा लगाउन नपाइने लगायत व्यवस्था गरेको छ ।

‘सक्षम बालिकाः समृद्ध नेपाल’ नाराका साथ भएको सम्मेलनमा बालिका संरक्षणमा ठोस पहल गर्ने विश्वास लिइएको छ । यसअघि पहिलो सम्मेलन २०७३ मा भएको थियो । पहिलो सम्मेलनको बाल विवाहलाई रोक्ने मूल उद्देश्य थियो । यो सम्मेलनमा जबरर्जस्ती विवाह, हिंसा र बलात्कारजस्ता घटना रोक्नका लागि ठोस छलफल हुनेछ । नेपालले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो बालिका सम्मेलनका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बालिकाको सुस्वास्थ्य र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले बालिका सम्मेलनका अवसरमा पठाउनुभएको सन्देशमा भनिएको छ, “आजका बालिकालाई उचित शिक्षादीक्षा, स्वास्थ्य चेतना प्रदान गर्दै जीवनोपयोगी ज्ञान र सीपबाट निपुण बनाउनुपर्छ, भोलिका कुशल र सक्षम अभिभावक, देशभक्त, स्वाभिलम्बी र कर्तव्यपरायण बनाउन अहिलेदेखि नै ठोस पहल गर्नु जरुरी छ ।”

समाजमा बालिकाप्रति भएका जघन्य अपराधको समाचारले आफूलाई मर्माहत बनाउने गरेको उल्लेख गर्दै उनको सन्देशमा भनिएको छ, “विभिन्न खालका अपराधबाट छोरीहरुलाई संरक्षण गर्नु र जोगाउनु हामी सबैको दायित्व हो, कानूनको शासनको प्रभावकारी कार्यान्वयन गरी अपराधीलाई दण्डित गरी पीडितलाई संरक्षण गर्नुपर्छ ।”

बालिकालाई विद्ययमान सामाजिक विकृति र कुसंस्कारबाट जोगाएर आत्मविश्वासी र चेतनशील नागरिकका रुपमा विकसित गर्नु समाज र राज्यको दायित्व भएको उल्लेख गर्दै सन्देसमा बालिकामैत्री कानून कार्यान्वयन गर्नका लागि प्रभावकारी पहल गर्न सबैको ध्यानाकृष्ट गराएका छन् ।

पहिलो बालिका सम्मेलन बालविवाह न्यूनीकरण गर्न भएको सफलताको समीक्षा गर्दै आजका बालिका भोलिका जिम्मेवार नागरिक भएको हुँदा घरपरिवारदेखि राष्ट्रको वहन गर्न सक्ने बनाउनुपर्ने सन्देशमा उल्लेख छ ।