गण्डकी प्रदेश

गाउँ गाउँशहरमा दलित सङ्ग्रहालय निर्माण

बेँसीशहर । बेँसीशहर नगरपालिका–३ को पर्यटकीय स्थल गाउँ गाउँशहरमा दलित सङ्ग्रहालय निमार्ण गरिएको छ । गाउँशहरस्थित युवा क्लब, आमा तथा बाबा समूहको सक्रियतामा उक्त सङ्ग्रहालय निमार्ण गरिएको हो ।

पाँच वर्षअघि मौलिक शैलीको परम्परागत गोलाकार आकारमा सङ्ग्रहालय निर्माण शुरु गरिएको थियो । ढुङ्गा, माटो र काठको जडानबाट निर्माण गरिएको बाहिर सिमेन्ट प्लाष्टर गरिएको उक्त सङ्ग्रहालय बाहिरबाट हेर्दा र भित्र घुमफिर गर्दा अवलोकनकर्तालाई परम्परागत घरकै अनुभूति होस् भन्ने उद्देश्यले संरचना निर्माणमा सकेसम्म मौलिकता दिइएको सिकर्मी हर्कबहादुर मौरतीले बताए ।

सङ्ग्राहलय निर्माण समितिका अध्यक्ष अजय मजाकोटीले करीब १३ फिट गोलाइको सङ्ग्रहालयको छानो बन्दीपुरबाट ल्याइएको स्लेट ढुङ्गाले छाइएको बताए । “बाहिरी भित्तामा प्लाष्टर गरी माटो र कमेरोजस्तै मौलिक देखिने रङ्गले पोतेर फूलबुट्टा भरिएको छ” उनले भने, “एउटा ढोका र चार झ्याल मौलिक स्वरूपको बनाएर राखिएको छ ।” उनका अनुसार सङ्ग्राहलय निर्माणमा रु १५ लाख ५० हजार ६३५ लगानी भएको छ । यसमा स्थानीयवासीले रु पाँच लाख ४१ हजार ५२९ बराबरको श्रमदान गरेका थिए ।

सङ्ग्रहालय निर्माणका लागि तत्कालीन गाउँशहर गाविसबाट पर्यटन शीर्षकमा आर्थिक वर्ष २०७०/७१ मा रु ६१ हजार २६१, गाविसबाट लक्षित वर्ग शीर्षकबाट रु ७२ हजार २००, आर्थिक २०७२/७३ मा तत्कालीन जिल्ला विकास समितिबाट रु तीन लाख सहयोग प्राप्त भएकोे थियो । आव २०७२/७३ भूसंरक्षण कार्यालयबाट जाली सहयोगका लागि रु ७५ हजार ६४५, आव २०७३/७४ मा बेँसीशहर नगरपालिकाबाट रु ५० हजार, सोही आर्थिक वर्षमै संसद् विकास कोषबाट रु एक लाख ५० हजार र आव २०७४/७५ मा बेँसीशहर नगरपालिकाबाट रु तीन लाख प्राप्त भएको थियो । नगरपालिकाले आव २०७५/७६ मा रु एक लाख विनियोजन गरेको अध्यक्ष मजाकोटीले बताए ।

सङ्ग्रहालयमा दलित समुदायका पुख्र्यौली, मौलिक र परम्परागत सीपबाट बनेका सामाग्री सङ्ग्रह गरिएको स्थानीय जनज्योति युवा क्लबका अध्यक्ष विजय दुलालले बताए । “गाउँमा नयाँ काम गरिएको छ, धेरैतिरबाट प्रशंसा पनि भएको छ”, दुलालले भने, “हामी निकै उत्साहित छौँ, स्वेदश र विदेशमा रहनुभएका दाजुभाइको आर्थिक सहयोगले सङग्राहलय निर्माण ग¥यौँ ।” दलित समुदायको मात्रै सङ्ग्राहलय निर्माण सम्भवतः नेपालमै पहिलो हुनसक्ने उनको भनाइ थियो । थुम्काडाँडामा जिल्लामै दलित समुदायको सबैभन्दा ठूलो झण्डै चार सय परिवारको बस्तीे छ ।

स्थानीय जनज्योति युवा क्लबको पहलमा राक्सेस्थान आमा समूह र जयश्री गणेश बाबा समूहको सक्रियतामा सो सङ्ग्राहलय निर्माण गरिएको हो । दलित समुदायको ऐतिहासिक, साँस्कृतिक, सामाजिक तथा अन्य विविध पक्षबारे गाउँमा आउने पर्यटक एवं नयाँपुस्तालाई जानकारी गराउने उद्देश्यले सङ्ग्राहलय निर्माण गरिएको स्थानीय दलित अगुवा बताउँछन् ।