पर्यटन/संस्कृति

२० लाख पर्यटक भित्र्याउने उद्देश्य पूरा गर्न यसो गर्नुपर्छ !

लुम्बिनी । पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ । नेपाल एशोसियशन ट्राभल एण्ड टुर्र एजेन्ट (नाट्टा) को आज प्रदेश नाट्टासँग भएको संयुक्त बैठकमा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य पूरा गर्न सहकार्य हुनुपर्ने बताइएको हो ।

बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटकको आगमन बढाउनका लागि वोर्डले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए । “सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउन पूर्वाधारको विकास हुनु जरुरी रहेको छ,”–उनले भने । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनन्जय पौडेलले बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले मुलुकमा पर्यटक भित्र्याउनका लागि सबै पर्यटन व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । “विश्वको आकर्षकको केन्द्र रहेको लुम्बिनीलाई पर्यटनसँग जोड्नका लागि सरकारले सहयोग गर्नुपर्छ,”–उनले भने ।

नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागार्इं, नाट्टा प्रदेश नं १ अध्यक्ष भूपालराज श्रेष्ठ, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेल,नाट्टा प्रदेश नं ५ का अध्यक्ष विष्णु शर्मा, नाट्टा प्रदेश नं ७ का अध्यक्ष मायाप्रसाद भट्ट, नाट्टाका महासचिव रमेश थापा, पूर्व अध्यक्ष मधुसुदन आचार्यलगायतले मुलुकको पर्यटन विकासका लागि संयुक्त कार्यक्रम बढाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।