उर्जा

पेट्रोल पाइपलाइन परियोजनाको काम तिब्र गतिमा, केही दिनमा पाईपलाईनबाटै पेट्रोल

जनकपुरधाम । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताएका छन् ।

जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “परियोजनाको कार्य प्रगतिलाई हेर्दा समयमै पाइपलाइन विस्तार कार्य पूरा हुने सङ्केत गरेको छ ।”

भारतीय मन्त्री प्रधानले नेपाली जनताको भावनाअनुसार ३२२ करोड भारतीय रूपैयाँको लगानीमा मोतिहारी– अमलेखगञ्ज पेट्रोल पाइपलाइन विस्तार परियोजना (६९ किलो मिटर) कार्यान्वयनमा रहेको उल्लेख गर्दै पेट्रोल आपूर्तिमा प्राकृतिक र अन्य जटिलता उत्पन्न नहोस् भन्ने कुरालाई पनि विशेष ध्यान दिई पाइपलाइन विस्तारको कार्य भइरहेको जानकारी दिए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेट्रोल पाइपलाइन विस्तार परियोजनाको ६० प्रतिशत कार्य सम्पन्न भइसकेको बताउँदै परियोजनाको कार्य सम्पन्नपछि पेट्रोलको आपूर्ति सहज र सरल ढङ्गले हुने र ढुवानी खर्चसमेत कम लाग्नेछ भने ।

आगामी दिनमा महेन्द्रनगर– मुझफरपुर ग्यास पाइपलाइन विस्तारको सम्भावित अध्ययनबारे छलफल भइरहेको बताउँदै उनले धनुषा जिल्लाको धनुषाधाममा सीप विकास केन्द्रको स्थापना गर्ने योजना सम्बन्धमा भारतीय पक्षसँग छलफल भइरहेको छ भने ।

एक प्रश्नको जवाफमा मन्त्री यादवले अन्तर्राष्ट्रिय मूल्य वृद्धिका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बताए ।