लुम्बिनी

फुटपाथ पसल तथा ठेला हटाउने अभियान शुरु

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान शुरु गरिएको छ ।

सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गर्न थालेपछि उपमहानगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान शुरु गरिएको हो ।

सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएपछि उपमहानगरपालिकाले अभियान शुरु गरेको उपमहाननगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिए । “जथाभावी रूपमा ठेला राखेर फुटपाथ अतिक्रमण गरेपछि त्यसलाई हटाउन शुरु गरेका हौँ”, उपप्रमुख थापामगरले भने ।

फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन उपमहानगरपालिकाले एक हप्तादेखि सार्वजनिक सूचना जारी गरी माइकिङसमेत गरे पनि अटेर गरेपछि हटाउन शुरु गरिएको उनले बताए । फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन शुरु गरेपछि पैदलयात्रु तथा स्थानीय पनि हर्षित भएका छन् ।

उपप्रमुख थापामगरले भने, “पैदलयात्रीले सहजरूपमा आवतजावत गर्न पाउन् भनेर फुटपाथ हटाउने अभियान शुरु गरेका हौँ ।”

फुटपाथ अतिक्रमण गरी अव्यवस्थित रूपमा राखिएको ठेलाका कारण पैदलयात्रुलाई हिँड्नसमेत कठिनाइ भएकाले अभियान शुरु गरिएको उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बताए । उनले भने, “फुटपाथ पसलका कारण दुर्घटनासमेत निम्त्याउन थालेपछि यसलाई हटाउन शुरु गरेका हौँ ।”