लुम्बिनी

गण्डक नहरमा डुबेर हराएका मृत भेटिए

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित गण्डक नहरमा डुबेर हराएका एक जना शुक्रबार मृतावस्थामा फेला परेका छन् । भारतको बिहार प्रदेशको पश्चिमी चंपारन जिल्ला रामनगर बस्ने अन्दाजी २५ वर्षीय राकेश बानियाँको शव नहरमा फेला परेको हो ।

गत मङ्गलबार राति प्रतापपुर गाउँपालिका वडा नं ९ स्थित प्रतापपुर पुल नजिकैबाट बेपत्ता भएका बानियाँको शव प्रतापपुर गाउँपालिका वडा नं ६ झुलनीपुर नहरमा फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका बानियाँको पश्चिम गण्डक नहरमा पानीको सतह कम गरी प्रहरीले खोजी गरेपछि प्रतापपुर गाउँपालिका वडा नं ६ झुलनीपुर नजिकैबाट शव फेला परेको थियो ।

अबैध कुखराका चल्ला नष्ट

पश्चिम नवलपरासीमा भारतबाट अवैध रूपमा भित्र्याइएको करीब रु ५० हजार मूल्य बराबरको कुखुराका चल्ला शुक्रबार प्रहरीको टोलीले बरामद गरी नष्ट गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ मा जिल्ला प्रहरी कार्यालयको प्रहरी गस्ती टोलीले बरामद गरेको करीब १०० चल्ला बरामद गरी नष्ट गरेको हो ।

चल्ला चोरीनिकासी गरी भारतबाट नेपाल ल्याउँदै गर्दा कारोबारीले प्रहरीलाई देखेपछि वेवारिसे अवस्थामा छाडी भागेको प्रहरीले जनाएको छ । प्रहरीले कुखुरा बरामद गरे पनि कारोबारीलाई भने पक्राउ गर्न सकेको छैन । प्रहरी टोलीले कुखुरा व्यवसायी समिति नवलपरासीका प्रतिनिधिको रोहबरमा कुखुरा प्रहरी कार्यालयको हाताभित्र नष्ट गरिएको प्रहरीले जनाएको छ ।