प्रवास

अमेरिकी राजदूतावासले विकास योजनाबारे जानकारी लियो

न्यूयोर्क । अमेरिकी राजदूतावासले तनहुँको व्यास नगरपालिकाको विकास योजनाबारे जानकारी लिएको छ । अमेरिकी दूतावासका प्रवक्ता एण्डी डी आरमेन्टको नेतृत्वको टोलीले शुक्रबार व्यास नगरपालिकाको विकास योजना सञ्चालन तथा कार्यान्वयनको अवस्थाको बारेमा जानकारी लिएको हो ।

सो अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाको वर्तमान अवस्था, योजना छनोटसम्बन्धी जानकारी तथा नगरपालिकाले तयार गरेको भावी विकासका गुरुयोजनाका बारेमा जानकारी गराएका थिए ।

नगर प्रमुख न्यौपानेले भर्खरै सङ्कलित तथ्याङ्कसम्बन्धी जानकारी र दैनिक रूपमा नगरपालिकाबाट नगरवासीलाई दिइने सेवा सुविधाका बारेमा जानकारी गराए । ।

त्यसक्रममा अमेरिकी दूतावासका प्रवक्ता आरमेन्टले आफूलाई स्थानीय तहमा ग्रामीण तहका जनताको प्रतिनिधित्व गरी जनप्रतिनिधिले गरिरहेका विकास निर्माणका कामप्रति अत्यन्त चासो भएको उल्लेख गर्दै व्यास नगरपालिकाको कामप्रति सराहाना व्यक्त गरे ।

उनले स्थानीय तहले आफूले गरेका कामलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जनसमक्ष पु¥याइ त्यसको प्रतिक्रिया लिन सक्नुपर्नेमा समेत जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले तनहुँ जिल्लामा १० स्थानीय तहले गरिरहेको विकास र त्यसमा समन्वय समितिले निर्वाह गरिरहेको भूमिकाका बारेमा जानकारी गराएका थिए ।

भेटघाटका क्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद बाँस्तोला, आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हडखले, अमेरिकी राजदूतावासका सञ्चार संयोजक अपार पौडेल, वडाध्यक्षहरू मोहनकुमार श्रेष्ठ, सतिशचन्द्र न्यौपाने र तुलसीराम सापकोटालगायत सहभागी थिए ।