समाचार

आगामी जनगणना प्रविधिमैत्री बनाइने

काठमाडौँ । आगामी २०७८ सालमा हुने नेपालको जनगणनामा सूचना प्रविधिको प्रयोग गर्दै बहु प्रविधिमैत्री विधिको प्रयोग गरिने भएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले यहाँ आज आयोजना गरेको ‘राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा आगामी जनगणनामा वैज्ञानिक प्रविधिको प्रयोग गर्दै विविधताको पहुँचमा समानताको हक स्थापित गर्ने प्रकारको तथ्याङ्क सङ्कलन गर्ने जानकारी गराइयो ।

नेपाल सरकारको २०६८ सालको जनसङ्ख्याको तथ्याङ्कअनुसार नेपालमा दुई प्रतिशत अपाङ्गता भएका व्यक्तिको बसोवास छ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार विश्वको जम्मा जनसङ्ख्याको करीब १५ प्रतिशत मानिस अपाङ्गता रहेको जनाइएको छ ।

कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले दिगो विकासको लक्ष्यमा अपाङ्गताको सवाल एक अर्काका परिपूरक भएको बताए । उनले आगामी जनगणनाले लैङ्गिक तथा सामाजिक समावेशीताका आधारमा हुने भन्दै उनले भने, “सामाजिक जनचेतना, प्रविधि, सूचनाको विकास गर्दै विभाग अघि बढेको छ । तथ्यपरक रुपमा तथ्याङ्क सङ्कलन हुन्छ ।”

महासङ्घका मुख्य प्रशासक मनिष प्रसार्इंले पिछडिएको वर्ग तथा समुदायलाई राष्ट्रको मूलधारमा ल्याउनु तथ्याङ्कको मूख्य प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गरे । उनले संविधानमा लिपिबद्ध भए तापनि कार्यान्वयनमा समस्या उत्पन्न भएकाले अपाङ्गले समानताको महसुश गर्न नसकेको बताए।

महासङ्घका उपाध्यक्ष गीता दाहालले आगामी २०७८ मा हुने जनगणनामा अपाङ्गता भएका व्यक्तिलाई तथ्याङ्कमा छुट्याउनु नहुने बताए । उनले धार्मिक, सामाजिक, सांस्कृतिक रुपमा समेत छुट्याई गणना गर्नुपर्ने बताए।