कृषि

बाढीले केराखेती नष्ट

राजविराज । सप्तकोशी नदीमा हालै आएको बाढीका कारण सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकामा लगाइएको लाखौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ ।

हनुमानगर कङ्कालनी नगरपालिका–१ भारदह र वडा नं २ को कोशी पुल क्षेत्रमा करीब ५०० बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीयवासी दिनेश राउतले बताए। सप्तशोशीको बाढी खेतमा पसेपछि केराखेती नष्ट भएको हो । भारदहको विभिन्न स्थानमा लगाइएको केराखेतीमा पानी थुनिएर बोट सुक्न थालेको छ ।

एक बिघा जग्गामा केराखेती गर्न रु तीन लाखसम्म खर्च हुने गरेको किसानले बताएका छन् । हनुमाननगर कङ्कालनी नगरपालिका–२ जोगिनियाँस्थित कोशी पलारमा लगाएको केराखेतीसमेत बाढीका कारण नष्ट भएको छ । यहाँ तीन सय बिघामा केराखेती गरिएको छ ।