पर्यटन/संस्कृति

पदमार्ग बन्न नसक्दा तिम्बुङ पोखरी पुग्न समस्या

पाँचथर । पदमार्ग बन्न नसक्दा धार्मिक तथा पर्यटकीयस्थल ‘तिम्बुङ पोखरी’ जाने तीर्थयात्री र पर्यटकले सास्ती खेप्नुपरेको छ । पाँचथरको याङ्वरक, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका र भारत सिक्किम राज्यको त्रिकोणात्मक सङ्गमस्थलमा अवस्थित तिम्बुङ पोखरीको भ्रमण गर्न ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् ।

सदरमुकाम फिदिमदेखि १८ कोश उत्तरमा रहेको तिम्बुङ पुग्न मेची राजमार्ग हुँदै पाँचथरको गणेशचोकबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर पाँचथरको फलैँचा वा ताप्लेजुङको कालीखोला हुँदै पुग्न सकिन्छ । मध्यपहाडी लोकमार्गको चिवाभञ्ज्याङ भएर पनि तिम्बुङ पुगिन्छ । इलामको पशुपतिनगरबाट सन्दकपुर–फालोट रुट प्रयोग गरेर पनि तिम्बुङको यात्रा तय गर्न सकिन्छ ।

सानो गोरेटो बाटो पछ्याएर यात्रा गर्नुपर्दा निकै गाह्रो हुने गरेको फिदिम–१, शनिबारेका मनोज गुुरुङ बताउँछन् । उनले भने, “पदमार्गलाई व्यवस्थित गर्नुपर्छ, त्यसतर्फ स्थानीय तहको ध्यान जान सकेको छैन ।” पैदल यात्रा गरी तिम्बुङ पुग्नुभएका फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाँका शङ्कर आङ्देम्बे पनि बाटो साँघुरो र अप्ठ्यारो भएको बताउँछन् ।

पाँचथरको याङवरक गाउँपालिका–२, बेतेनी र ताप्लेजुङतिरबाट सिदिङ्वा गाउँपालिका–१, कालीखोलाको आकाशे गाउँ छाडेपछि कुनै बस्ती भेटिदैन । चौँरी र भेँडीगोठबाहेक बस्ने सुविधा छैन । “राज्यको आँखा पर्न सकेन,” ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–१ कालीखोलाका फौदबहादुर भण्डारी भन्छन् । बहुमूल्य जडीबुटीको भण्डार, धार्मिक आस्थाको केन्द्र, प्राकृतिक सुन्दरता र जैविक विविधताका लागि महत्वपूर्ण क्षेत्र भएर पनि उक्त क्षेत्र ओझेलमा परेको छ ।

याङ्वरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङ्हाङ पर्यटन विकासका लागि विभिन्न निकायलाई गुहार्दै आएको बताउँछन् । अहिले पाँचथरको याङ्वरक गाउँपालिका–२, हुँदै तिम्बुङसम्म सडक पु¥याउने योजना बन्दै छ । सिदिङ्वा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले साब्लाखुदेखि आङ्खोप हुँदै तिम्बुङ जाने सडकलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए । तिम्बुङ पोखरी समुद्री सतहदेखि चार हजार ४८० मिटरको उचाइमा रहेको छ ।