अन्तर्राष्ट्रिय

संसदीय सुनुवाईः क्याभाना र फोर्डबीच आरोप प्रत्यारोप

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ब्रेट क्याभानाले त्यहाँको सिनेट न्यायिक समितिसमक्ष आफूमाथि लगाइएको यौन आक्रमणको आरोपको कडा प्रतिबाद गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिस गरेका क्याभानामाथि प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले यौनहिंसाको आरोप लगाएसँगै संसदीय समितिमा क्याभाना र फोर्डको घण्टौ लामो सुनुवाई भएको थियो ।

पहिलो सत्रमा फोर्डले समितिमा उपस्थित भएर ३६ वर्षअघि अर्थात् आफू १५ वर्षको हुँदा क्याभाना र उनका साथीले मदिरा सेवन गरी कोठामा थुनेको, कपडा खोलेको, मुख थुनेको र बलात्कार नै गर्न खोजेको आरोप लगाए । उनले भने, “त्यसबाट मलाई जीवनभर असर परेको, सुरुका वर्षहरुमा पढाइ बिग्रिएको र कसैलाई भन्न समेत डर लागेको थियो ।”

बोली अबरुद्ध पार्दै आफ्ना कुरा संसद समक्ष राख्नुभएकी प्राध्यापक फोर्डले सांसदहरुको प्रश्नको जवाफ दिँदै भने, “म क्याभानालाई राम्रोसँग चिन्थे, आज पनि चिन्छु । तिनै क्याभानाले मलाई दुव्र्यवहार गरेकोमा म शत प्रतिशत विश्वस्त छु । मैले गल्ती गरेर अर्कै व्यक्तिको नाम लिइरहेको छैन ।”

“म अत्यन्त भयभित छु,” फोर्डले भने, “मेरो जीवनमा भएको यस घटनाका बारेमा जानकारी गराउनु नागरिक कर्तव्य सम्झेर म यहाँ आएकी हुँ ।” रिपब्लीकन पार्टीका सांसदहरु अहिले क्याभानाको पक्षमा उभिएका छन् भने फोर्डलाई डेमोक्राट पार्टीका सांसदहरुले सहयोग गरिरहेका छन् ।

क्रोध मिश्रित तर निकै भावुक मुद्रामा प्रस्तुत हुनुभएका ब्रेट क्याभानाले फोर्डको आरोपको खण्डन गर्दै भने, “फोर्डले लगाएका आरोपको म समग्र रुपमा खण्डन गर्न चाहन्छु । मैले आजसम्म कसैलाई कहिल्यै यौन आक्रमण गरेकै छैन, स्कुलमा पनि गरिनँ, कलेजमा पनि गरिनँ, र कहिल्यै त्यस्तो गरिनँ ।”

“यो आरोप मात्र हो, म पूर्णतः निर्दोष छु,” क्याभानाले भने। क्याभानाले आफ्नो चारित्रिक हत्या गर्नेगरी मञ्चन गरिएको हास्यास्पद नाटक रहेको बताए । “मेरो परिवार र मेरो नाम क्रुरतापूर्ण र झुटो आरोपबाट तहसनहस भएको छ । यो सुनुवाई प्रक्रिया नै राष्ट्रिय लज्जाको विषय भइसक्यो ।” क्याभानाले भने, “तर यो प्रक्रियाबाट म मेरो नाम फिर्ता लिन चाहन्न । तपाइँहरुले मतदानबाट बरु मलाई अस्वीकार गर्न सक्नुहुन्छ तर म पछि हट्ने छैन ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याभानाले आफ्नो भनाइ प्रष्ट रुपमा राखेकामा खुशी व्यक्त गरे । ट्रम्पले क्याभानाको बयान सशक्त, इमान्दार र मन छुने रहेको बताए । राष्ट्रपति ट्रम्पले डेमोक्रेट पार्टीको एक इमान्दार व्यक्तिमाथि दोषारोपण ठीक नभएको बताउँदै क्याभानाको नियुक्तिमा ढिलाइ गर्न, अबरुद्ध गर्न यो प्रपन्च भइरहेको दाबी गरे । उनले भने, “सिनेटले जतिसक्दो चाँडो मतदान गरोस् ।”

अमेरिकी सिनेटको न्यायिक समितिमा हाल ११ जना रिपब्लीकन र १० जना डेमोक्राट सदस्य छन् । सिनेटमा समेत रिपब्लीकनको ५१ र डेमोक्रेटको ४९ सिट छ । यद्यपी समितिले यो विषय कहिले टुङ्गो लगाउँछ भन्ने स्पष्ट भएको छैन ।

आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावमा यो संख्यामा फेरबदल हुने सम्भावना रहेकाले पनि डेमोक्रेटहरुले न्यायाधीश सुनुवाइलाई विलम्ब गरिरहेको आरोप छ । उनीहरुले फोर्डको आरोपका सम्बन्धमा अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) ले अनुसन्धान गर्नुपर्ने माग गरिआएका छन् । अमेरिकी सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीश आजीवन उक्त पदमा रहने भएकाले पनि नियुक्तिमा विवाद हुने गरेको छ ।