प्रदेश 1

पाँच पत्रकार पुरस्कृत

विराटनगर । नेपाल प्रेस युनियन मोरङ शाखाको आठौँ जिल्ला अधिवेशन तथा पुरस्कार समर्पण समारोहमा आज यहाँ पाँच पत्रकार पुरस्कृत भएका छन् ।

पत्रकार भारती उपाध्यायद्वारा स्थापित अम्वे–मुरारी महिला पत्रकारिता पुरस्कारबाट सुशीला पाठक, शैलेजा आचार्य स्मृति पुरस्कारबाट मदनबाबु प्रसाईं, शैलेजा आचार्य स्मृति युवा पुरस्कारबाट नरेन्द्र बस्नेत, शैलजा आचार्य स्मृति महिला पुरस्कारबाट रञ्जिता पोखरेल र मायादेवी रिजाल स्मृति पुरस्कारबाट कुमोद अधिकारी पुरस्कृत भएका छन्। पुरस्कारको राशी जनही रु ११ हजार रहेको छ ।

सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले प्रजातन्त्र र लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्र बलियो हुनुपर्ने बताउनुभयो । उहाँले परिवर्तनका संवाहक सञ्चार क्षेत्रले आफ्नो भूमिकालाई सशक्त बनाउनुपर्ने कुरामा जोड दिए ।

काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सञ्चारकर्मीले आफ्नो पेशालाई मर्यादित बनाउँदै व्यावसायिक बन्नुपर्ने बताए। प्रेस युनियन मोरङ शाखाका सभापति मीनकुमार नवोदित श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा सञ्चारकर्मी विक्रम लुइँटेल, बन्धु पोखरेल, अजयबाबु शिवाकोटी, बाला अधिकारी र विजय सन्तोषी राईले बोलेकी थिइन् ।