सुदूरपश्चिम

खर छाप्रोमुक्त अभियानमा व्यास

दार्चुला । व्यास गाउँपालिका–६ का भागरथी लोहार खरले छाएको घरमा बस्दै आएको वर्षौ भयो । बर्खाको समयमा छाप्रो भित्र छाता ओडेर रात बिताउनु परेको स्मरण उनमा ताजै छ । श्रीमान् अपाङ्ग भएका कारण वर्षौदेखि खरको छाना छाउने उनको सपना बल्ल पूरा हुने भएको हो ।
गाउँपालिकाले ‘खर छाप्रो मुक्त गाउँपालिका अभियान’ सञ्चालन गरेपछि लोहारको दुःखका दिन अन्त्य हुने भएको छ । उक्त अभियानअन्तर्गत बिहीबार गाउँपालिकाले स्थानीयवासीलाई जस्तापाता वितरण गरेकाले उनमा खुशीको सीमा नै रहेन । गाउँपालिकाले गरीब, दलित, अपाङ्ग, पिछडिएका समुदायका समस्यालाई गत वर्ष घोषणा उक्त अभियानअन्तर्गत प्रतिपरिवार चार देखि ८५ वटासम्म जस्तापाता वितरण गरेकाले स्थानीयवासी खुशी भएका छन् ।

संविधानबमोजिम नागरिकको गाँस, बास, कपासको व्यवस्था गर्नुपर्ने दायित्व राज्यलाई छ । ‘सिंहदरबारको अधिकार गाउँ गाउँ’मा आयो भनेर नारा सुनेका यहाँका बासिन्दाले थोरै भएपनि राज्य भएको अनुभूति भएको चर्चा गर्न थालेका छन् । व्यास–५ का राजमती भट्ट गाउँभरी सुकेका घाँसले वर्षेनी छाप्रो छाउनु पर्दा हैरानी खेप्नुपरेको थियो भन्छन् । वर्षात्को समयमा चुहिएर भित्र बस्नै नमिल्ने हुन्थ्यो । बर्खा सकिए पनि अब जस्तापाताको नयाँ घरमा बस्न पाइने एपछि उनी पनि खुशीले गद्गद् भएका छन् ।

घरको छानाबाट खानामा किरा झर्ने, वर्षात्मा चुहिएर भित्र बस्नै नसकिने समस्याको समाधान हुने भएपछि यहाँका २३९ परिवार खुशी भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष ०७४।०७५ मा गाउँपालिकाभरिको खरले छाएको घर धुरीको लगत सङ्कलन गरेको थियो । गत वर्ष तथ्याङ्क सङ्कलन प्रभावकारी हुन नसक्दा स्थगित भएको कार्यक्रम चालू आर्थिक वर्षको शुरुमै जस्तापाता खरीद गरेर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकी बताउँछन् ।

गत वर्ष शुरुमा अनुमानको भरमा बजेट विनियोजन गर्न नसक्दा खर छाप्रो मुक्त कार्यक्रममा जनताले अनुभूति गर्नेगरी काम गर्न सकिएन, उनी भन्छन्, “अहिले हामीले प्राप्त तथ्याङ्कलाई आधार मानेर जस्तापाता वितरण ग¥यौँ ।”

गाउँपालिकाको रु एक करोडको लागतमा जस्तापाता खरीद गरी वितरण गरिएको हो । उक्त गाउँपालिका केन्द्रबाटै जस्तापाता वितरण गर्न सडक अभावका कारण सदरमुकाम खलङ्गाबाटै वितरण गरिएको थियो । गाउँपालिकाले जस्तापाता ढुवानीबापत प्रतिपरिवार रु ५०० सहयोग उपलब्ध गराएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त जोशी बताउँछन् । जस्तापाता वितरण पछि एक महिनाभित्रै घर छाउन लगाएर गाउँपालिका छाप्रो मुक्त भएको घोषणा गरिने उनको भनाइ छ । खर मुक्त भए नभएको समेत अनुगमन गरी डेढ महिनामा हामी पूर्णरुपमा गाउँपालिका छाप्रो मुक्त भएको घोषणा गर्छौ गाउँपालिका अध्यक्ष बुढाथोकी भन्छन् ।

अहिले पनि उक्त गाउँपालिकामा पुग्न सदरमुकाम खलङ्गाबाट दुई दिन लाग्छ । दार्चुला तिङ्कर सडक निर्माणमा ढिलाई हुँदा यहाँका बासिन्दा अहिले पनि खलङ्गाबाटै अधिकाँश सेवा लिँदै आएका छन् ।

नेपालतिरको पैदल मार्ग भएर जानु निकै अप्ठ्यारो छ जस्तापातालाई गाउँसम्म कसरी लैजाने भन्ने चिन्ता छ । व्यास–३ कासुरेन्द्रसिंह कुँवरले भन्छन्, “जस्तापाता त पायौँ तर ढुवानी गर्नमा निकै समस्या छ । भारतीय बाटो हुँदै लग्यो भने भारतीय सुरक्षाकर्मीले अप्ठ्यारो पार्छन् ।”

गाउँपालिकाले गतवर्ष हिलो मुक्त र खरछाप्रो मुक्त गाउँपालिका निर्माण गर्ने कार्यक्रम सञ्चालन गरेको थियो भने चालू आर्थिक वर्षमा धुवाँ मुक्त गाउँपालिका बनाउने तयारी गरिएको जनाएको छ ।