बाग्मती

कयर खोलामा तटबन्धनका लागि पन्ध्र करोड

चितवन । पूर्वी चितवनको तीन वटा नगरपालिका हुँदै बग्ने कयर खोलामा तटबन्धन गरिने भएको छ । हरेक वर्षको वर्षात्मा स्थानीयवासीलाईे बाढीले दुःख दिँदै आएकोमा यस वर्षदेखि तटबन्धन गर्न लागिएको हो । तटबन्धनका लागि रु १५ करोड बजेट निकासा भएको छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाले तटबन्धनको प्रक्रिया अगाडि बढाएको छ । आयोजनाका प्रमुख इञ्जिनियर मोहनकुमार शाक्यका अनुसार विस्तृत अध्ययन प्रतिवेदन तयार गरी काम अगाडि बढाइनेछ । नारायणी र राप्ती नदीमा तटबन्धनको कार्य गर्दै आएको सो कार्यालयले यस वर्ष कयर खोला र केरुङ खोलामा तटबन्धन गर्न लागेको हो ।

कयर खोला कालिका नगरपालिकाको वडा नं ७, ८, ९, खैरहनी नगरपालिकाको १, २, ४ र रत्ननगर नगरपालिकाको ३, ४, ५, ७, ८, १४ र १६ नम्बर वडा हुँदै बग्दछ । खोला शक्तिखोर पिठुवा, चैनपुर, बेल्सी, शान्तिचोक, देवौली, चित्रसारी, बाघमारा, खगेरी हुँदै राप्तीमा मिसिन्छ ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार तटबन्धनबाट ५० हजारभन्दा बढी जनसङ्ख्या लाभान्वित हुनेछन् । तटबन्धन गर्नुपर्ने क्षेत्र २५ किलोमिटर रहेको छ । पहिलो वर्ष सो बजेटबाट ३ किलोमिटर मात्रै तटबन्धन हुने जनाइएको छ । तटबन्धनसँगै दुवैतर्फ पाँच मिटर चौडा सडक हुनेछ । खोलाको क्षेत्र ४० देखि ६० मिटर फराकिलो रहेको छ । हिउँदमा कम पानी हुने भए पनि वर्षात्मा ठूलो बाढी आउने गर्दछ । सोही खोलाबाट पानी लगेर तीन नगरपालिकाका विभिन्न क्षेत्र सिँंञ्चित गरिंँदै आएको सो क्षेत्रका प्रदेश सांसद कृष्ण खनालले बताए ।

तटबन्ध शक्तिखोरबाट शुरु गरिने छ । पूर्वी चितवनमा बाढीका कारण राप्ती, कयर, पम्पा, चात्रा, लद्रा, भड्ताल लगायतका खोलाले दुःख दिंँदै आएको छ ।