राजनीति

ओली सरकारले बलात्कारी र भ्रष्टाचारीहरु पुरस्कृत गर्योः नेता गच्छदार

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था खस्किएको आरोप लगाए ।

नेता गच्छदारले प्रतिपक्ष दलका नेताको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढेको तथा अपराधीलाई पक्राउ गरी कारवाही गर्न नसकेको भ्रष्टाचारीहरु पुरस्कृत हुदैँ गएको बताए ।

नेता गच्छदारले गृहमन्त्रीले समितिको बैठकमा हत्या, हिंसा र बलात्कारको घटना पहिले पनि हुन्थे भन्नु र प्रधानमन्त्रीले पार्टीको एक कार्यक्रममा पार्टीका कार्यकर्तालाई विरोधीमाथि अरिङ्गालो झैँ जाइलाग्नु भन्ने अभिव्यक्ति गैरसंसदीय अभ्यास भएको आरोप लगाए ।

प्रतिपक्षलाई विरोधका आँखाले हेर्नु लोकतन्त्र होइन भन्दै उनले विरोधीलाई पनि सहमति, सहकार्य र एकतामा गोलबद्ध बनाउन सके मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प पूरा हुने बताए ।

उनले ‘सरकार गतिशील हुन नसकेको भन्दै संविधान कार्यान्वयनको दिशामा सरकार अल्झिनु महँगी नियन्त्रण गर्न नसक्नु तथा जथाभावी कर बढाउनुले संविधान कमजोर बन्दै गएको छ’ भने । नेता गच्छदारले सरकार सङ्घीयता कार्यान्वयन गर्ने भन्दापनि विफल बनाउन लागेको आरोप लगाए ।