कर्णाली प्रदेश

बाढीपहिरोबाट तीस करोड क्षति

मुसिकोट । यस वर्षको बाढीपहिरोबाट रुकुम पश्चिममा रु ३० करोडभन्दा बढी क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लाका ६ स्थानीय तहबाट लिएको जानकारीअनुसार रु ३० करोड १५ लाख ८२ हजार रकम क्षति भएको पाइएको हो । बाढीपहिरोबाट सबैभन्दा बढी मुसिकोट नगरपालिकामा रु सात करोड दुई लाख १२ हजार बराबरको क्षति भएको छ । यहाँका १५ घर पूर्णरुपमा क्षति भएको र ५१ घरमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ ।

आठविसकोट नगरपालिकामा ३१ घर पूर्णरुपमा क्षतिग्रस्त भएको र १७ घरमा आंशिक क्षति पुगेको छ । यस नगरपालिकामा रु ६ करोड ४३ लाख ३१ हजार क्षति भएको बताइएको छ । चौरजहारी नगरपालिकामा चार वटा घरमा पूर्णरुपमा क्षति पुगेको र २९ घरमा आंशिक क्षति भई रु दुई करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै जिल्लाको सानीभेरी गाउँपालिकामा सात वटा घर पूर्णरुपमा क्षति भएको, १० वटा घरमा आंशिक क्षति भएको र जम्मा ६ करोड ५० लाख पाँच हजार बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यहाँको त्रिवेणी गाँउपालिकामा भने दुई वटा घरमा पूर्णरुपमा क्षति पुगेको र ६६ वटा घरमा आंशिक क्षति भएको छ । यस गाउँपालिकामा चार करोड चार लाख ६० हजार बराबरको क्षति भएको जानकारी दिइएको छ । सबैभन्दा कम बाँफिकोट गाउँपालिकामा दुई करोड ५१ लाख ३६ हजारको क्षति भएको छ । यहाँका १० घर पूर्णरुपमा क्षति भएको र ३४ वटा घरमा आंशिक क्षति पुगेको गाउँपालिकालेब बताएको छ ।

यस वर्षको वर्षासँगै आएको बाढीपहिरोले मानवीय क्षति नभए पनि बाढीपहिरोबाट जिल्लामा ३० करोडभन्दा बढीको क्षति हुनु दुःखद भएको प्रजिअ शम्भुप्रसाद रेग्मीले बताए । यहाँको क्षतिको सबै विवरण गृह मन्त्रालय र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाइएको प्रजिअ रेग्मीले बताए । उनका अनुसार आठविसकोट नगरपालिकाको ३१ घरपरिवारका लागि प्रतिघर ५० हजारको दरले राहत आइसकेको र केही दिनमा उक्त रकम वितरण गरिने बताइएको छ । अन्य स्थानीय तहमा भएको क्षतिको विवरण पनि पठाई सकिएको र राहत माग गरिएको उनको भनाइ छ ।