पर्यटन/संस्कृति

कार्यालय सहयोगीका भरमा पर्यटन शाखा

भीमदत्तनगर । सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ मुलुकभित्र पर्यटकीय क्षेत्र चिनाउनेदिख पर्यटन गतिविधि बढाउँदै गरेका बेला पश्चिमी नाका गड्डाचौकीमा कार्यालय सहयोगीका भरमा विश्वपर्यटन दिवस मनाउनु परेको छ ।

पर्यटक भित्र्याउने प्रदेश नं ७ कै प्रमुख नाका गड्डाचौकीस्थित पर्यटन बोर्डको शाखा कार्यालय विगत पाँच वर्षदेखि कार्यालय सहयोगी थानेश्वर लेखकका भरमा छ । नेपाल घुम्न आएका तेस्रो मुलुकका ६ पर्यटकलाई ३९औँ विश्व पर्यटन दिवसका अवसरमा गड्डाचौकीमा स्वागत गरिएको कार्यालय सहयोगी लेखकले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलगायतले गड्डाचौकीमा पर्यटकलाई स्वागत गरेका हुन्।

नगर प्रमुख विष्टले गड्डाचौकीमा मुलुकभित्र रहेका पर्यटकीयस्थलको जानकारीमूलक बोर्ड राखिने बताए । “आवश्यक बजेट विनियोजन गरेका छौँ,” उनले भने । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधवप्रसाद जोशीले कञ्चनपुरबाट भारतको राजधानी नयाँ दिल्ली र अन्तर्राष्ट्रिय विमानस्थलसमेत नजिक भएका कारण प्रदेश नं ७ मा पर्यटक भित्र्याउन सहज भएको बताए । “भारतका धेरै पर्यटकीयस्थल यहाँबाट नजिक छन्,” उनले भने, “पर्यटक आएपछि उनीहरुलाई विभिन्न पर्यटकीयस्थलको भ्रमण गराउने योजना छैन ।”

पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गड्डाचौकी भएर नेपाल आएका स्वीडेनका मेडलिन टेगेलेट्ला, जर्मनीकीका मारिया गइजेलर, इरनाष्ट अष्ट जेनेष्टेवर र डेबिट सिवियक, अष्टे«लियाका ज्याक क्याम्रन र जापानका फुया इजियामालाई स्वागत गरिएको छ । सो अवसरमा पर्यटकलाई जिल्ला समन्वय समितिका प्रमुख तामाङ र नगरप्रमुख विष्टले ढाका टोपी, खादा र टीका लगाएर स्वागत गरेका थिए ।

नेपाल पर्यटन बोर्ड कञ्चनपुर शाखाका कार्यालय सहयोगी लेखक पर्यटकलाई पर्यटकीयकस्थलबारे जानकारी गराउनुका साथै ब्रोसिट वितरण गर्ने गरेको बताउँछन् । “नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ,” उनले भने । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०१८ को हालसम्ममा गड्डाचौकी नाका भएर तेस्रो मुलुकका एक सय ८६ पर्यटक भित्रिएका छन् भने सो नाका भएर एक सय २ पर्यटक बाहिरिएका छन् । कार्यालयका निमित्त प्रमुख पदमराज भट्टका अनुसार अमेरिका, जर्मनी, फ्रान्स, बेलायतलगायत मुलुकका पर्यटक यहाँ बढी आउने गरेका छन् । सन् २०१७ मा गड्डाचौकी नाका हुँदै एक हजार ७४५ पर्यटक नेपाल भित्रिएका थिए भने एक हजार ७८९ पर्यटक यहाँबाट बाहिरिका थिए ।