गण्डकी प्रदेश

नागरिक सहायता कक्ष स्थापना

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले चाडपर्वलाई लक्षित गरी सदरमुकाममा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वका बेला सर्वसाधारणलाई पर्ने समस्या समाधान गर्न सहज बनाउन बुधबार हरमटारी चोकमा सहायता कक्ष स्थापना गरिएको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । दशैँ, तिहारजस्ता ठूला चाडमा मानिसको आवातजावत बढी हुने भएकाले उनीहरुको सहयोगका लागि सो कक्ष स्थापना गरिएको प्रहरी नायब उपरीक्षक नेपालको भनाइ छ । “मानिसको भीडभाड बढी हुने समयमा चोरी, लुटपाटका घटना हुन सक्ने भएकाले नागरिकले सजिलै जानकारी दिन सक्ने गरी कक्ष स्थापना गरिएको हो”, उनले भने ।

यात्रुले आवाजजावतलाई सवारी साधन नपाउने, महँगो भाडा तिर्न बाध्य हुने भन्दै त्यस्ता समस्या जानकारी दिन सकिनेछ । चाडपर्वको अवधिभरसम्म नियमित एक प्रहरी रहने छन् । सो कक्षबाट यात्रुलाई सवारीसाधनमा आवातजावत गर्दा यात्रुले ध्यान दिनुपर्ने कुरासमेत श्रव्यमार्फत नियमित जानकारी दिने व्यवस्था गरिएको छ । छतमा बसेर यात्रा गर्ने, सवारी चालकले मादकपदार्थ सेवन गरेर सवारी चलाउने, यात्रुले समेत जथाभावी बाटो काट्दा दुर्घटना हुनसक्ने, भीडभाडका बेला बालबालिका हराउन सक्ने भन्दै सबैलाई सचेत गराउन सो कक्ष सहयोगी हुने बताइएको छ ।