पु.समाचार

गृहमन्त्री थापाको संकल्पः बलात्कारी र हत्यारालाई कठोर सजाय दिईन्छ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका हत्या, हिंसाका घटनाबारे सदनलाई जानकारी दिँदै उनले राजनीतिक सङ्कल्प र कठोर कानून बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रण गरिने प्रतिबद्धता जनाए ।

गृहमन्त्री थापाले भने, “मुलुकमा हत्या, हिंसाको घटना रोक्न सरकारले जोडबल लगाइरहेको छ । हत्या, हिंसाबाट समाजलाई मुक्त गराउन सरकार, सदन र जनताका बीचमा एकता कायम गरेर अघि बढन आवश्यक छ ।” निर्मला पन्तको हत्या महिला हिंसाको प्रतिनिधिमूलक घटनाक भएको बताउँदै उनले निर्मला पन्तमा सम्बन्धित निकायको गम्भीर कम्जोरी र गैरजिम्मेवारीका कारण अनुसन्धानमा केही ढिलाइ भए पनि हत्यारालाई कानूनी कठघरामा उभ्याउन सफल हुने विश्वास दिलाए ।

लागुऔषध र घरेलु मदिराले हत्या हिंसाका घटनालाई बढाएकाले त्यसलाई रोक्ने प्रयास भइरहेको बताउँदै गृहमन्त्री थापाले विकास र समृद्धिको माध्यम पनि समाजलाई परिवर्तन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकार स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेको हुँदा त्यसलाई रोक्ने सफल हुने अठोट व्यक्त गरे ।

सरकार र नागरिकको समन्वयमा मात्र पूर्ण सुरक्षा सम्भव भएकाले वडास्तरबाटै संयन्त्र बनाएर अभियान चलाउन आवश्यक रहेको उनले बताए । आगामी दशैँ र तिहारमा यातायात व्यवस्थापन र खाद्यान्न ढुवानीमा कुनै समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले उपत्यकाबाहिर जाने यात्रुका लागि टिकट बुकिङ खुल्ला भइरहेको बताए ।

बर्दियामा भएको राममनोहर यादवको मृत्यु प्रहरी यातनाबाट नभई मस्तिष्कघातबाट भएको रिपोर्ट आएको बताउँदै गृहमन्त्री थापाले भने, “विगतको तुलनामा हत्या हिंसाका घटनामा कमी आएको छ, शान्ति सुव्यवस्था सुदृढ भएको छ ।”

बाढी पहिरोमा परेर १०० जनाको मृत्यु

सो अवसरमा गृहमन्त्री यादवले वैशाखदेखि भदौ १७ गतेसम्म मुलुकका विभिन्न भागमा एक हजार ५८४ दुःखका घटना भएकामा त्यसमध्ये ५४५ बाढी पहिरोसँग सम्बन्धित रहेको जानकारी दिए ।

उक्त अवधिमा बाढी पहिरोका घटनामा परेर १०० जना मृत्यु हुनाका साथै १४३ घाइते भएका र दुई हजारभन्दा बढी घर क्षति भएको उनले बताए ।