अन्तर्राष्ट्रिय

बेबारिसे घरमा सिरियाली बालबालिकाको पढाइ

अलेप्पो । बिद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा विस्थापित बालबालिका एउटा बेबारिसे घरको भूइँमा बसेर कापीमा केही लेख्दै गरेका भेटिन्छन् ।

द्वन्द्वका कारण स्कुल भत्किएपछि चारजना शिक्षकले एक सयजति बालबालिकालाई यही अस्थायी स्कुलमा पढाउन थालेका हुन् ।

स्कुलमा अहिले छदेखि १२ वर्ष उमेरका बालबालिका अध्ययनरत छन् । उत्तरी अलेप्पो प्रान्तको पश्चिमतर्फको यो सानो स्कुलमा केटाकेटी पढाउने प्रयास अहिले जारी छ ।

आधा निर्माण सकिएपछि त्यसै अलपत्र परेको यो घरको भूइँमा केटाकेटी सुकुलमै बस्छन् । उनीहरुले कापी किताब राख्ने स–साना झोला साथमै राखेको देख्न सकिन्छ । के गर्नु, “भविष्यका कर्णधार”का रुपमा लिइने साना बालबालिका पढ्ने यो स्कुलमा डेस्क, पुस्तकालय वा शौचालय छैन ।

यहाँ घरको वरिपरिको पर्खालमा लथालिङ्ग झुण्डिएका झ्यालबाट बाहिरको तातो हावा भित्रसम्म पुग्छ ।

चम्किलो नीलो टी–सर्ट र जिन्समा सजिएकी एक बालिकाको कपाल राम्रोसँग बाटिएको छ । उनी किताबमा निमग्न मात्र होइन लेखाइमा पनि उत्तिकै होसियार छिन् ।

“यो स्कुल होइन,” ११ वर्षका अली अब्देल जवाद भन्छन् । “यहाँ कक्षाकोठा छैन, बस्ने सिट छैन, केही पनि छैन । हामी त यहाँ भूइँमा बसेर पढिरहेका छौं ।”

एउटा कक्षाकोठामा घुँघट ओढेका ससाना बालिका हाँसो गरिरहेका छन् । शिक्षकले भने मुश्किलले व्यवस्था गरिएको बोर्डमा लेखेर पाठ पढाउँदैछन् ।

अर्को कोठामा स्कुलकी एकमात्र शिक्षिका प्लास्टिक कुर्चीमा बसेका छन् । उनका वरिपरि भित्तामा अढेस लागेर एक हुल केटाकेटी केही सिक्दैछन् ।

केही बालबालिका प्लास्टिकबाट बनाइएको कार्पेटमा घुँडाले टेकेर बसेका छन् । कार्पेटको छेउमा उनीहरुका जुत्ता राम्रोसँग मिलाएर राखिएको छ । बालबालिका र शिक्षक सिरियाकै अर्को ठाउँबाट विस्थापित भएर यहाँ आइपुगेको एकजना शिक्षकले बताए ।

केही राजधानी दमास्कसको बाहिरी क्षेत्र पूर्वी घोउटाबाट यहाँ आइपुगेका छन् । विगतमा विद्रोहीको कब्जामा रहेको घोउटा गत अप्रिलदेखि सरकारको नियन्त्रणमा छ ।

अरु हामा वा होम्स प्रान्तबाट आएका छन् । यो घरको बाहिर आँगनमा एउटा फोहरासमेत जडान गरिएको छ, तर यसमा पानी छैन । यो फोहरा केटाकेटीका लागि घुमीघुमी खेल्ने ठाउँ भएको छ ।

विपक्षीको अधिनमा रहेका क्षेत्रमा सञ्चालित स्कुलहरुका लागि सामान्यतया दातृ संस्थाहरुले सहयोग गरिरहेका छन्, तर विगतमा यस्ता धेरै स्कुलमा बमबारी भएका थिए ।

“हामी सधैं कहिले, कसले बमबारी गर्ला भनेर त्रसित हुन्थ्यौं,” मोहम्मद नाम गरेका एकजना शिक्षकले बताए ।

स्कुल चलाइएको यो भवन विद्रोहीकै कब्जामा रहेको क्षेत्रमा छ । यहाँबाट नजिकै पूर्वीअलेप्पोमा सरकारी सेनाको नियन्त्रण छ । पश्चिमतर्फ इडलीब छ जहाँ विद्रोहीको बलियो पकड छ ।

इडलीब प्रान्त र यससँग जोडिएका अलेप्पो र लटाकीया प्रान्तमा करिब ३० लाख मानिस बसोबास गर्दछन् । सिरियाका अरु भागमा भड्किएको युद्धबाट आधाभन्दा बढी विस्थापित भएका छन् ।

यही महिनाको शुरुमा इडलीबमा सरकारी फौजले आक्रमण गर्ने त्रास बढेको थियो, तर गत साता दमास्कस र यसको सहयोगी मस्को तथा विद्रोहीलाई सघाइरहेको टर्कीबीच फौजी कारबाही तत्काल नगर्ने सम्झौता भएको छ । –एजेन्सी