गण्डकी प्रदेश

बेलिब्रिज जोखिममा

मुस्ताङ । बेनी–जोमसोम सडकअन्तर्गत थासाङ गाउँपालिका–३ स्थित लेतेखोलाको बेलिब्रिज जोखिममा परेको छ । लेते खोलामा आएको बाढीले पुलको आधारस्तम्भ संरक्षणका लागि निर्माण गरिएको पर्खाल भत्काएको थियो । लेतेतर्फको स्तम्भको छेउको पर्खाल भत्किएपछि पुलबाट आवतजावत बन्द गरिएको छ ।

सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने देखिएकाले वैकल्पिक सडक बनाएर खोलाबाट गाडी आवतजावत गर्ने व्यवस्था मिलाइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । विसं २०६४ मा मार्ग खुलेको बेनी–जोमसोम सडकको लेतेखोलाको पुल नेपाली सेनाले निर्माण गरेको हो । भदौ अन्तिम सातादेखि अवरुद्ध बेनी–जोमसोम सडक मर्मतपछि आइतबार साँझदेखि सञ्चालनमा आएपछि मुस्ताङमा तीर्थयात्री र पर्यटकको चहलपहल बढेको छ । मुस्ताङमा उत्पादन भएको स्याउ बजार पठाउन थालिएको छ ।