प्रदेश 2

एसिड पीडितलाई थप राहत घोषणा

जनकपुरधाम । प्रदेश नंं २ को सरकारले एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई थप राहत दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले उक्त घोषणा गरेका हुन् । मृतककी बहिनी सुस्मिता दासको उपचार र मृतकको राहत स्वरूप ‘बेटी बचाउ, बेटी पढाउ’ योजनाबाट थप रु तीन लाख रकम दिने घोषणा गरिएको हो ।

यसअघि एसिड आक्रमणबाट गम्भीर दिदीबहिनीको उपचारका लागि प्रदेश सरकारले रु एक लाख दिने निर्णय गरेको थियो । मुख्यमन्त्री राउतले सम्झना दासको जीवनरक्षा गर्न नसकिएको प्रति दुःख व्यक्त गर्नुहुँदै उपचाररत सुस्मिता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए ।

उनले सो घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन आवश्यक उपाय र कानूनी रायसहित लिखित प्रतिवेदन १५ दिनभित्र पेश गर्न मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन समेत दिएका छन् ।