राजनीति

पार्टी बलियो बनाउन कार्यकर्ता एकताबद्ध हुनुपर्छः नेत्री यादव

वीरेन्द्रनगर । पूर्वमन्त्री तथा काङ्ग्रेस नेत्री चित्रलेखा यादवले पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। नेपाली काङ्ग्रेसको विधान, संशोधन, सुझाव सङ्कलनका लागि आज वीरेन्द्रनगरमा भएको प्रदेशस्तरीय भेलामा काङ्ग्रेस नेत्री यादवले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोप गर्नुभन्दा सकारात्मक सुझाव दिन आग्रह गरे ।

नेपाली काङ्ग्रेसलाई बलियो सङ्गठन बनाउन सबैको सुझाव, सल्लाह आवश्यक रहेको उनको भनाइ थियो । काङ्ग्रेस नेत्री यादवले सातै प्रदेशबाट मस्यौदामाथि आएका सुझाव सङ्कलन गरिने र दशैँ तिहारको बीचमा केन्द्रीय समिति बैठकमा प्रस्ताव गरी मङ्सिरमा हुने महासमिति भेलामा लैजाने बताए । उहाँले अब बन्ने काङ्ग्रेसको विधान सबैभन्दा लोकतान्त्रिक र समावेशी हुने दाबीसमेत गरे ।

विधान समितिका सदस्य प्रदीप पौडेलले सबै तहमा एक तिहाइ महिला सहभागिता हुने, केन्द्रीय सदस्य र पदाधिकारीको आकार बढ्ने, प्रदेश समिति पनि अधिकार सम्पन्न बन्ने जिकिर गरे । अहिले पनि अन्य दलकोभन्दा काङ्ग्रेसको विधान लोकतान्त्रिक भएको र नयाँ बन्ने विधान पनि थप लोकतान्त्रिक हुने उनको भनाइ छ ।