खेलकुद

एन्फा निर्वाचनमा अनियमितता, आरोप प्रमाणित गर्न चुनौती

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को गत वैशाखमा भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको आरोप लगाइएको छ । एन्फा निर्वाचन भएको करिब पाँच महिनापछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका पूर्वउपाध्यक्ष मणि कुवँरले वर्तमान नेतृत्वले मतदातालाई प्रत्यक्षरुपमा पैसा बाँड्ने काम गरेको, चुनावलगत्तै मतदातालई युरोप भ्रमणमा लगेको, न्यायालयलाई समेत प्रभावित पार्ने काम गरेको आरोप लगाए ।

एन्फा निर्वाचन गत वैशाख २२ गते सम्पन्न भएको थियो । कुवँरले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष पङ्कज नेम्बाङलगायतले निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाए ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) का उपाध्यक्ष समेत रहेका कुँवरले आफुले यी सबै आरोपका बारेमा प्रमाणसहित फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी)मा पठाइसकेको र त्यसको जवाफ कुरेको जानकारी दिए ।

निर्वाचनमा कर्माछिरिङ शेर्पा प्यानल नै भारी मतले विजयी भएको थियो । निर्वाचन विधानविपरीत भएको भन्दै कुँवरले निर्वाचनको एक दिनअघि पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचनमा सहभागी नुहने घोषणा गरेका थिए ।

आरोप प्रमाणि गर्न चुनौती दिन्छौँ –प्रवक्ता राई

यसैबीच एन्फा प्रवक्ता किरण राईले लगाएको आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न कुँवरलाई चुनौती दिएका छन् ।

संक्षिप्त कुरा गर्दै प्रवक्ता राईले भने, “तत्कालीन अवस्थामा उहाँहरुकै नेतृत्वले निर्वाचन कमिटी गठन गरेको हो, त्यही कमिटीले गरेको निर्वाचनलाई गलत व्यख्या गर्नु ठीक होइन ।”

अदालतको विषयमा बोल्नु अदालतको मानहनी हो भन्दै उनले निर्वाचन भएको पाँच महिनापछि निर्वाचित कमिटीमाथि विभिन्न आरोप लगाउनु हार मानसिकताको उपज वाहेक अरु केहि नभएको बताए ।

आरोप प्रमाणत भए सजाय भोग्न तयार रहेको पनि उनले स्पष्ट पारे ।