खेलकुद

होप भ्याली र रातो बङ्गलालाई उपाधि

काठमाडौँ । प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि होप भ्याली र रातो बङ्गलाले जितेका छन् । ढोलाहिटीस्थित आयोजक ओसिस इङ्लिस स्कूल परिसरमा आज भएको छात्रतर्फको फाइनल खेलमा होप भ्यालीले विल्सन एकेडेमीलाई ५३–५० को अन्तरले पराजित गर्दै उपाधि जितेको हो । सिजन महतले २२ अङ्क बनाए ।

त्यस्तै छात्रातर्फको उपाधि भिडन्तमा रातो बङ्गलाले एलआरआइलाई १५–४ ले हरायो । रातो बङ्गलाकी श्रेयाशी राणाले सर्वाधिक १० अङ्क जोडिन् । त्यस्तै आस्था रिजालले चार तथा टीसा मानन्धरले एक अङ्क बनाइन । फाइनल खेलका सर्वाधिक स्कोरकर्ताद्वय सिजन र श्रेयाशी आ–आफ्नो विधामा उत्कष्ट खेलाडी चुनिए । छात्रतर्फ उपविजेता विल्सनका पेम्बा शेर्पा र छात्रातर्फ उपविजेता एलआरआइकै सोनिया राणा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता घोषित भए । प्रतियोगिताभर पेम्बाले ९६ र सोनियाले १५ स्कोर गरे ।

विजेतालाई लेखक एवं समाजसेवी सुवर्णराम जोशी, ओसिसका संस्थापक जानुका लिम्बू र ओसिसका सह–प्राचार्य युन्छो लिम्बूले पुरस्कार प्रदान गरे । यही असोज १ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १२ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।