पर्यटन/संस्कृति

व्यास भूमिको प्रचार गर्न महामिलन पर्व

दमौली । वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा एक महीने विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुने भएको छ ।

वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले आज दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमबारे जानकारी गराएको छ । प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले १८ पुराणका रचयिता वेदव्यासको जन्मस्थलको उचित प्रचारप्रसार हुन नसकेकोले यसको प्रचारका लागि कात्तिक १ देखि ३० गतेसम्म कार्यक्रम गर्नलागिएको बताए । उनले भने, “व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक र ऐतिहासिक दृष्टिले परिचित गराउन तथा धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन महामिलन पर्व गर्न लागिएको हो ।”

गत वर्ष कात्तिक १ देखि १८ सम्म अखण्ड हरिकीर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरतास्वरुप अब प्रत्येक वर्ष कात्तिक महीनामा यो कार्यक्रम आयोजना गरिन लागेको हो । पर्वमा धर्मगुरु, सन्त, महन्त, विद्वान्, बुद्धिजीवि एवं सम्पूर्ण ओमकार परिवारको उपस्थिति रहने प्रतिष्ठानका मूल संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले बताए । पर्वका अवसरमा महर्षि वेदव्यासले रचना गरेका वेदको बारेमा समेत जानकारी गराइने छ ।

सबै धर्मको मूल थलो व्यासभूमि भएकाले यहाँ सबै धर्मावलम्बीलाई मिलन गराउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको व्यासका अध्येता काशीनाथ न्यौपानेको भनाइ छ । धेरै विद्वान्ले व्यासको जन्मभूमि दमौलीमा भएको स्वीकार गरिसकेकाले जन्मथलोको विषयमा द्विविधा नरहेको उनले बताए ।